Headlines News :
>
Home » » ज्याकी च्याङकी भक्त

ज्याकी च्याङकी भक्त

Written By Unknown on Friday, 10 October 2014 | 23:50

bimala tamang



             बालाजु कराते डो प्रतिष्ठानमा सयौं बालबालिका प्रशिक्षण गर्न आइरहन्छन् । मुख्य प्रशिक्षक धु्रवविक्रम मल्ल एघार वर्षअघि विष्णुबहादुर तामाङले छोरीलाई 'राम्रो खेलाडी बनाइदिनु' भनेर भर्ना गरेको सम्झन्छन् । 'उनी सानै थिइन् । ठूला आँखा र फुर्तिलो शरीर भएकोले राम्रै हुने लाग्यो,' पहिलो भेटबारे मल्लले भने । बुबाको कर र साथीहरू खेलेको देखेर रहरले कराते सिक्न थालेकी उनले खुबै मिहिनेत गरिन् । निरन्तर प्रगति गरेकी उनै विमला तामाङले १७ औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र कांस्य पदक दिलाएकी हुन् ।
भर्खर १८ वर्षकी विमलाले करातेको प्रदर्शनी खेल काताको एकल स्पर्धामा कांस्य पदक जितेकी हुन् । कोरियामै बेपत्ता खेलाडी, फुटबलमा 'म्याच फिक्सिङ' र हारको शृंखलाले अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भइरहेको इन्चोन एसियाडको अन्त्यतिर उनले नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् । राष्ट्रिय खेलकुद परिषदको एसियाड खेल्नेको सूचीमा नरहेका उनी कसरी इन्चोन पुगिन् ? कस्ती खेलाडी हन् ?
विष्णु र धनमायाको परिवार आफ्ना ३ सन्तानलाई राम्रो शिक्षा दिन सेम्जोङ ४ बाट २०६० सालमा काठमाडौं बसाइँ सरेको थियो । त्यसैलाई उनी आफ्नो जीवनकै 'टर्निङ प्वाइन्ट' मान्छिन् । 'काठमाडौं नआएको भए गाउँमा मेरो पनि सानै उमेरमा विवाह भइसकेको हुन्थ्यो र यतिबेला घाँस-दाउरा गरिरहेकी हुन्थे होला,' उनले बताइन्, 'त्यसैले आफूलाई धेरै भाग्यमानी ठान्छु ।'
उनी वास्तवमै भाग्यमानी हुन् । अहिले नेपाली करातेमा चर्को विवाद छ । महासंघ नै दुईवटा छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त । दुई संघका पदाधिकारीबीच पानी बाराबारको स्थिति छ । राष्ट्रिय खेलकुद परिषद्ले छनोट गराएर ८ खेलाडीलाई जापानमा प्रशिक्षण दिँदै दक्षिण कोरिया लगेको थियो । त्यसमा विमला थिइनन् । एकल कातामा चञ्चला दनुवारको नाउँ थियो । तैपनि उनी अन्तर्राष्ट्रिय मान्यतावाला संघ र नेपाल ओलम्पिक कमिटी हुँदै इन्चोन पुगेकी थिइन् ।
'एरिनामा उत्रनुअघि खेल्न पाउनेमै शंका थियो,' उनले भनिन्, 'खेल्ने मौका पायो भने पदक जित्ने आत्मविश्वास थियो । र त्यही भयो । पदक थाप्दा देशको लागि केही त गरँे भनेर खुसी लाग्यो । आफ्नो झण्डा पदक जित्ने अरु देशको जस्तै उचालिँदा खुसीको आँसु नै बग्यो ।' उनी चञ्चला प्रतियोगितास्थल पुगेर पनि खेल्न नपाउनुलाई दुःखद् मान्छिन् । 'विवादले खेलाडीलाई हतोत्साही बनाउँछ,' उनले भनिन्, 'समाधान निकालेर अघि बढेमात्र सफलता प्राप्त हुन्छ ।'
उनी सरकार र ओलम्पिक कमिटीको करिब ८ करोड रुपैयाँ लगानीमा परेकी खेलाडी होइनन् । प्रशिक्षक मल्लले बाइक धरौटीमा राखेर जुटाएको रकमले इन्चोन पुगेकी उनी २ सय ४ नेपाली खेलाडीमध्ये एक्लो पदक विजेता भएकी हुन् । उनको कोरिया यात्रा विवादरहित छैन । तर उनी उत्कृष्ट खेलाडी भएकोमा दुईमत पनि छैन ।
उनले राष्ट्रिय टिममा रहेका चञ्चलालाई हराएर राष्ट्रिय खेलकुद २०६८ मा स्वर्ण जितेकी थिइन् । प्रशिक्षक मल्ल त उनलाई एकल कातामा चुनौती दिने नेपालमा खेलाडी नै नभएको दाबी गर्छन् । हुन पनि विमलाको ११ वर्षे करिअर त्यस्तै छ । उनले जति प्रतियोगिता खेलेका छन्, ती सबैमा पदक जितेकै छन् । राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा कांस्य जित्दा त उनी १५ वर्षकी मात्रै थिइन् ।
'राष्ट्रिय खेलकुद अघिसम्म छोरीलाई पदकको महत्त्व थाहा थिएन,' धनमायाले भनिन्, 'धनगढीमा जितेपछि स्वर्ण नै चाहिने रहेछ भन्ने महसुस गर्न थालिन् ।' उनी सन् २००९ देखि २०१२ सम्म जुनियर कराते खेल्न लखनऊ, कोलकाता, नयाँदिल्ली, मलेसिया (क्वालालम्पुर सिलोंगर) र दुबई पुगिन् । कोई एसियन कराते -क्वालालम्पुर) मा कांस्य र अरु सबैमा स्वर्ण जितिन् । दुबई ओपनमा त सिनियरमै कांस्य, जुनियरमा स्वर्ण र कुमुते (फाइट) मा दुई रजत पनि हात पारिन् । उनी यसरी परिपक्व हुँदै गइन् ।
पाँच वर्षयता उनी देश-विदेशका प्रतियोगितामा निक्कै व्यस्त भइन् । प्रतियोगितामा सहभागी हुँदा हप्तौंसम्म स्कुल छुट्थ्यो । तर पनि उनले जनजागृति स्कुलबाट ६७ प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरिन् । 'कक्षामा छुटेको कोर्स फुर्सदमा घरैमा पढ्थेँ,' हाल रेडन्ट कलेजमा ११ कक्षामा व्यवस्थापन अध्ययनरत उनले भनिन्, 'पढाइ र खेललाई सँगसँगै अघि बढाउनेछु । पढाइले ज्ञान दिन्छ । त्यसैले पढ्नुपर्छ । खेलले म र मेरो परिवारलाई चिनाएको छ । त्यसैले अझ ठूलो सफलता हात पार्नका लागि धेरै मिहिनेत गर्नुछ ।'
एकल कातामा ऐतिहासिक पदक जितेकी उनले कराते खेल्ने बाहेक अरु केही नसोचेको बताइन् । स्वास्थ्यले साथ दिएसम्म खेल्ने उनको धोको छ । इन्चोनमा कांस्य हात पारेपछि उनले अर्को एसियाडमा स्वर्ण पदक जित्ने लक्ष्य बनाइसकेकी छिन् । 'आउने एसियाड र अरु अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर देशको नाम फैलाउन चाहन्छु,' उनले लक्ष्य प्रस्ट्याइन् । १८ औं एसियाड ४ वर्षपछि इन्डोनेसियाको जकार्तामा हुनेछ ।
उनलाई सफलताले जिम्मेवार पनि बनाएको छ । तेक्वान्दोका दीपक विष्टबाहेक अरु नेपाली खेलाडीले एसियाडमा दोहोर्‍याएर पदक जितेका पनि छैनन् । 'प्रतिष्ठा जोगाउन धेरै मिहिनेत गर्नुपर्छ,' उनले भनिन्, 'अहिलेभन्दा दोब्बर मिहिनेत गरेमात्र योभन्दा ठूलो पदक जित्न सकिन्छ । त्यसका लागि गुरुको साथ, वाषिर्क ३-४ प्रतियोगिता खेल्ने अवसर पाउनुपर्छ ।'
प्रायः ट्रयाकसुटमै देखिने विमलाले बुबाको सपना र आफ्नो रहर पुरा गर्न कराते सिक्न थालेकी थिइन् । 'खेलाडी भनेर नाम कमाउँछु । घरमा पनि सहयोग गर्छु भन्ने सोचेँ,' उनले सम्भिmइन् । ट्रेनिङ कहिलेकाहीं गाह्रै हुन्थ्यो । त्यो उनले बुबालाई सुनाउँथिन् । 'मिहिनेत नगरी फल पाउँदैन । यस्तोमा संघर्ष गरेन भने राम्रो खेलाडी बन्दैनस् भन्नुहुन्थ्यो,' उनले भनिन्, 'अल्छी गरे ममीले गाली गरेर ट्रेनिङमा पठाउनुहुन्थ्यो ।'
बाआमाको डरले पनि नियमित ट्रेनिङ गर्ने उनी भन्छिन्, 'त्यस्तो नभइदिएको भए अहिलेको अवस्थामा पुग्ने थिएन ।' उनी पछ्याउँदै बहिनी विपना -१३ वर्ष) र भाइ नीराजन -११) पनि कराते खेलाडी भएका छन् । नीराजनले 'गी' लगाएर किक र पञ्च प्रहार गरेको ४ वर्ष भयो । उनी पहिलो पदकको खोजीमै छन् । ब्ल्याकबेल्टवाली विपनाले नेपाल र भारतमा थुप्रै पदक जितेर राम्रो खेलाडी बन्ने सम्भावना देखाएकी छिन् । उनी र विमलाको घरमा कसले धेरै पदक जित्ने भन्ने अघोषित प्रतिस्पर्धा नै चल्छ । बहिनी कुमुते -फाइट) खेल्छिन् । विमला कुमुतेका पनि राम्रै खेलाडी हुन् । तर अहिले कातामै केन्दि्रत छिन् ।
उनी सफलताको श्रेय गुरु, अभिभावक र साथीहरूलाई दिन्छन् । उनको बुबा हाल मलेसियामा सेक्युरिटी गार्डको रूपमा कार्यरत छन् । वनस्थलीमा बस्ने परिवारका गृहिणी हुन्, आमा धनमाया । १० लाख रुपैयाँको सरकारी सम्मानसहित पाउने पुरस्कार खेल सामग्री खरिद गर्न र परिवारको लागि लगानी गर्ने विमलाको योजना छ ।
भगवान्प्रति आस्थावान् विमला सानैदेखि ज्याकी च्याङका फिल्म खुबै हेर्छिन् । हलिउडका यी कलाकार मार्सल आटर्सका खेलाडी पनि हुन् । फिल्ममा उनको खेल कला खुबै देख्न पाइन्छ । 'म पनि ज्याकी च्याङजस्तै बन्छु । उनले जस्तै किक र पञ्च हान्छु भन्ने सोच्थेँ । ट्रेनिङमा प्रयास पनि गर्थेँ । तर उस्तै हुँदैनथ्यो,' उनले भनिन्, 'उनीजस्तै कहिले हुने होला भन्ने चिन्ता लाग्थ्यो ।'
फरासिली उनी एसियाड पदक जितेपछि सम्मान थाप्न र सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन व्यस्त छिन् । 'कहिले कहाँ कहिले कहाँ,' उनले भनिन्, 'राम्ररी सुत्नै पाएको छैन ।' यसबीच पनि उनले स्वदेश फर्केको पर्सिपल्टै (मंगलबार) देखि नै नियमित ट्रेनिङ सुरु गरिन् । मिहिनेत र लगावले नै उनलाई ३ करोड नेपालीमाझ प्रशंसाका पात्र बनाएको हो ।
'यो पदकले बाबाको सपना पुरा भयो,' उनले भनिन्, 'अब मबाट धेरै आस गर्न थालेको छ । यसले आत्मविश्वास बढेको छ । प्रशिक्षणमा अभ्यास गर्ने जोश पनि बढाएको छ ।'
उनका आदर्श खेलाडी सुनील लामा हुन् । ११ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेपछि सुनीलको तस्वीर बालाजु डोजोमा राखिएको थियो । 'त्यो तस्वीर हेरेर म यस्तो कहिले हुन्छु होला भन्ने लाग्थ्यो,' ५ फिट १ इन्च अग्ली उनले भनिन्, 'अब सुनील दाइजस्तै हुनुपर्‍यो भनेर मिहिनेत गर्न थालेँ । उहाँले पनि एकदम प्रेरणा दिनुहुन्थ्यो । उहाँको स्तरमा अझै पुगेकी छैन । कहिले पुग्ने हो, थाहा छैन ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar