![]() |
| पूर्वपश्चिम राजमार्ग बाँकेको शमशेरगन्ज परुवासोता खोलाको पुल भास्सिएपछि रूख ढालेर वारपार गराउँदै सशस्त्र प्रहरी। |
स्थानीय प्रशासनको उपस्थिति हालसम्म हुन नसक्दा उनीहरूले राहतस्वरूप खाद्यान्न र बस्नका लागि त्रिपाल पनि पाएका छैनन्। उनीहरू जंगलमा प्लास्टिक राखेर भुइँमा सुत्नुपरेको बाध्यता सुनाउँछन्। राप्ती नदीमा एक्कासि आएको बाढीले घर भत्काएपछि त्यसभित्र रहेका लत्ताकपडा, भाँडा, दराज, सुत्ने खाटलगायतका सम्पूर्ण समान पुरिएका छन्। सुत्ने खाटसमेत भत्किएको घरमा पुरिएपछि उनीहरू भुइँमा सुत्न बाध्य भएका हुन। गाउँको पूर्वउत्तरतर्फ रहेको वनमा लहरै बसेर रात बिताउने गरेका छन्।
'भएको खाट, बिस्तारा सबै घरमा पुरियो। भुइँमा सुत्नुपर्ने बाध्यता आइलाग्यो। निद्रा लाग्दैन। प्लास्टिक ओढेर रात बिताउने गरेका छौँ,' कालुराम परियारले कान्तिपुरसँग भने, 'यसरी कति दिनसम्म रात बिताउन सकिएला। प्रशासनका कुनै अधिकारीहरू हाम्रो अवस्थाबारे बुझ्न आएनन्।'
फत्तेपुरका तीन विस्थापित परिवार वन कार्यालयको खाली रहेको एउटा कोठामा बसेका छन्। त्यस्तै केही परिवार राप्तीपीडित गुलरी सामुदायिक वन उपभोक्ता समितिको भवनमा बसेका छन्। तर, सबै विस्थापित त्यहाँ बस्न मिल्ने स्थान नभएकाले उनीहरूले जंगल रोजेको बताए। स्थानीयले विस्थापितहरूलाई बेवास्ता गरे जंगल फँडानी गरेर बस्ने चेतावनी दिएका छन्।
'भत्किसकेको घरमा बस्ने मिल्ने कुरै भएन। घर नभएपछि जंगलमा भए पनि बस्नैपर्यो,' स्थानीय प्रभु चौधरीले भने, 'दुई/चार दिनमा जंगलबाट वनले पनि लखेट्ने होला।' स्थानीय प्रशासनले पीडितहरूको अवस्थाबारे बुझ्न बेवास्ता गरेपछि स्थानीयले आफैं राहत संकलन गर्न थालेका छन्।
त्यस्तै, राप्तीपारिकै मटेहिया, गंगापुरका दुई स्थानीय पनि गणपति सामुदायिक वनमा बस्न बाध्य भएका छन्। केही स्थानीय छिमेकी गाउँमा शरण लिएका छन्। त्यस्तै, होलियाका टेपरीका स्थानीयहरू कल्कलवा तटबन्धमा पालमुनि बसेका छन्। सोनपुरका स्थानीय हुलाकी सडकमा बसेका छन्।
स्थानीय प्रशासनले केही स्थानमा बिस्कुट, चाउचाउ, भुजा वितरण गर्नुबाहेक प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन। रेडक्रसले ३ हजार ६ सय बढी घरपरिवार प्रभावित भएको जनाएको छ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !