मलेसियामा काम गर्ने नेपालीलाई समस्या नहोस्
Written By Unknown on Friday, 22 August 2014 | 20:48
मलेसियामा
काम गर्ने नेपालीलाई समस्या नहोस् ः प्रम
प्रधानमन्त्री सुशील कोइरालासँग मलेसियाका मानव संसाधनमन्त्री रिचार्ड रोइत
अनक जिमले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ । भेटका
अवसरमा प्रधानमन्त्री कोइरालाले मलेसियाको विकासमा योगदान पु¥याइरहेका
नेपालीलाई प्रवेशाज्ञालगायत कुनै समस्या आउने अवस्था सिर्जना हुन नदिन
मलेसियाली मन्त्री जिमलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले
मलेसियाको सरकारी स्वामित्वसमेत रहेको मलेसियन एअरलाइन्सका केही समय अगाडि
भएको दुई भिन्दाभिन्दै दुर्घटनामा जीवन गुमाएका मलेसियालीका स्वजनप्रति
समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा मलेसिया सरकार र मलेसियालीमा
धैर्यधारण गर्ने शक्ति प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले मलेसियाको विकास प्रयासले आफूलाई निकै प्रेरित गरेको
बताउनुभयो । उहाँले विकासका लागि शान्ति र स्थायित्व अपरिहार्य भएको र
नेपाल अहिले त्यसकै प्राप्तिको मार्गमा रहेको पनि उल्लेख गर्नुभयो । उहाँले
संविधानसभाबाट निर्धारित समयभित्रै संविधान जारी भएपछि नेपालमा राजनीतिक
स्थिरता र शान्ति कायम हुनाका साथै विकास प्रक्रियाले गति लिने विश्वास
दिलाउनुभयो । उहाँले आउने माघ ८ भित्रै संविधान जारी हुने विश्वास पनि
व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले केही समय पहिले नेपाल भ्रमणमा
आउनुभएका मलेसियाका पूर्वप्रधानमन्त्री डा महाथिर मोहम्मदसँग आफूले
मलेसियाको विकासको सूत्र बताउन आग्रह गरेको पनि बताउनुभयो । मलेसियाले
शान्ति र स्थायित्वको वातावरणमा प्रत्यक्ष विदेशी लगानीबाट आर्थिक
रूपान्तरण गरेको रहस्यले आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो ।
मलेसियाली मानव संसाधनमन्त्री जिमले नेपालमा हालै आएको बाढीपहिराले
पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले नेपालीमा रहेको
मिहिनेती स्वभाव, कामप्रतिको लगाव, आज्ञाकारिताजस्ता असल गुणले नेपाली
जनशक्ति लिन आफूहरू इच्छुक रहेको बताउनुभयो । मन्त्री जिमले मलेसियाको
स्थापनाका साथै विद्रोहीलाई शमन गरेर मलेसियामा शान्ति र स्थायित्व कायम
गर्न गोर्खा रेजिमेन्टका नेपालीले गरेको योगदानको पनि स्मरण गर्नुभएको थियो
। उहाँले मलेसियासँग अन्य मुलुकसँग भएका श्रम सम्झौताको मानक तयार भए पनि
नेपालीका लागि घरेलु कामदारका रूपमा महिला र पुरुष दुवैलाई लैजाने माग
रहेकाले सोअनुरूप काम गर्न केही समय लागेको जानकारी दिनुभयो । भेटवार्ताका
अवसरमा मन्त्री जिमले नेपालमा उडान गरिरहेको मलेसियन एअरलाइन्सका कर्मचारी र
नेपालमा रहेका मलेसियालीले नेपालको बाढी र पहिरोपीडितको उद्धार, राहत,
पुनःस्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री राहत कोषमा जम्मा हुने
गरी प्रदान गरेको रु तीन लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । मलेसियामा
पछिल्लो तथ्याङ्कअनुसार चार लाख ३४ हजार नेपाली कामदार कार्यरत रहेको
बताइएको छ ।
Labels:
Prabas


0 comments:
Speak up your mind
Tell us what you're thinking... !