Headlines News :
>
Home » » बाल–मातृ मृत्यदर छिटो घटाउने १० देशमा नेपाल

बाल–मातृ मृत्यदर छिटो घटाउने १० देशमा नेपाल

Written By Unknown on Thursday, 10 July 2014 | 17:08

नेपाल बाल र मातृ मृत्युदर द्रुत गतिमा घटाउने (फास्ट ट्र्याक) विश्वका १० देशको सूचीमा परेको छ। सन् १९९० मा सहस्राब्दी विकास लक्ष्य (एमडिजी) सुरु भएपछि तोकिएको अवधि (२०१५) पुग्नुअघि नै लक्ष्य पूरा गरेका १० देशको सूचीमा परेको नेपालले जोहानेसबर्गमा प्रशंसा पाएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत विश्वका ६ सय २५ संस्थाका विज्ञ, नीति निर्माता, सरकार र संसदका प्रतिनिधि सहभागी सम्मेलनमा प्रतिकूल राजनीतिक अवस्था, द्वन्द्व, आर्थिक चुनौती र अन्य सीमितताका बाबजुद पनि नेपालले सफलता हात पारेको भन्दै प्रशंसा गरिएको हो। सम्मेलनमा बाल र मातृ मृत्युदर द्रुत गतिमा घटाएका नेपाललगायतका देशले लक्ष्य प्राप्ति गर्न अपनाएका कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाल सन् १९९० को तुलनामा मातृमृत्युदर ८० प्रतिशतले र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ६६ प्रतिशतले घटाउन सफल भएको छ। सहस्राब्दी विकास लक्ष्यमा बाल र मात ृमृत्युदर सन् १९९० को तुलनामा दुईतिहाइले घटाउने उल्लेख थियो। स्वास्थ्यमा कार्यरत पार्टनर्सिप फर मेटर्नल न्यु बर्न र चाइल्ड हेल्थ (पिएमएनसिएच), विश्व बैंक, विश्व स्वास्थ्य संगठन, अलाइन्स फर हेल्थ पोलिसी एन्ड सिस्टम रिसर्चको समन्वयमा जोहानेसबर्गमा आयोजना भएको दुईदिने सम्मेलनमा सार्वजनिक तथ्यांकअनुसार विश्वका ७५ देश उक्त लक्ष्य प्राप्त गर्ने बाटोमा छन्। तीमध्ये नेपाल, बंगलादेश, कम्बोडिया, चीन, इजिप्ट, इथियोपिया, लाओस, पेरू, रुवान्डा र भियतनामले द्रुतगतिमा लक्ष्य पूरा गरिसकेका छन्। १० देशमध्ये नेपाल प्रगतिदरका हिसाबले तेस्रो स्थानमा छ। नेपालले सन् १९९० मा प्रतिहजार जीवित जन्ममा १ सय ६२ रहेको बालमृत्युदर २०११ मै ५४ मा झारेर सहस्राब्दी विकास लक्ष्य पूरा गरिसकेको छ। त्यसैगरी, मातृमृत्युदर १९९० मा प्रतिलाख जीवित जन्ममा ८ सय ५० रहेकोमा हाल १ सय ७० मा झरेको छ। पार्टनर्स फोरमले नेपालले यस अवधिमा गर्भाधारण दर ५ दशमवल ३ बाट झारेर २ दशमलव ६ मा पुर्यारउनु र अन्तरिम संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नु र स्वास्थ्यलाई मौलिक हकका रूपमा राख्नुलाई महŒवपूर्ण र नमुना उपलब्धिको रूपमा व्याख्या गरेको छ। रिपोर्टअनुसार पाँच वर्षमुनिका बालबालिको मृत्युदर र मातृमृत्युदर ८० प्रतिशतले घटाएर चीन द्रुत सुधारकर्ता देशको सूचीमा एक नम्बरमा उभिएको छ। इजिप्टले बाल मृत्युदर ७५ प्रतिशतले र मातृ मृत्युदर ६९ प्रतिशतले घटाएको छ। रिपोर्टअनुसार बंगलादेशले यसअवधिमा बालमृत्युदर ६५ प्रतिशतले र मातृमृत्युदर ६६ प्रतिशतले घटाएको छ। बंगलादेशले पोषणअवस्था सुधार र खोपको कभरेजमा गरेको वृद्धि, जन्मदर्तामा ल्याएको सुधारले स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ। पिएमएनसिएचको प्रतिवेदनमा राजनीतिक र आर्थिक चुनौतीका बीचमा पनि मातृ र शिशु मृत्युदर द्रुत रूपमा घटाउन र प्रजनन अधिकारलाई नाटकीय ढंगले सुधार गर्न सम्भव छ भन्ने विश्वका १० देशले देखाएको उल्लेख छ। 'यी देशहरूले अपनाएका नीति र कार्यनीति महिला र शिशु मृत्युदर न्यूनीकरणका लागि सफलताका तत्व हुन्,' रिपोर्टमा उल्लेख छ, 'यी देशले स्रोत परिचालन गरे र देशभरी एकदमै भिन्न र विशेष कार्यक्रम लागू गरे, जसले उपलब्धि चुमायो।' यी देशहरूले सन् १९९० देखि २०१३ मा मृत्युदर घट्दा २४ लाख बालबालिका र ७० हजार आमाको ज्यान जोगिएको छ। फास्ट ट्र्याक नियन्त्रण सहस्राब्दी विकास लक्ष्य पूरा गर्न अपनाइएका सफलताबाट अरु देशले पनि सिकून् भनेर आयोजकले १० देशका स्वास्थ्यमन्त्रीलाई अनुभव 'सेयर' गर्न निमन्त्रणा गरेको थियो। कार्यक्रममा नेपालबाहेक ९ देशका स्वास्थ्यमन्त्री उपस्थित थिए। नेपालका तर्फबाट प्रस्तुति दिँदै स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले खोप नीति, समुदायमा आधारित एकीकृत बाल कार्यक्रम, दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने सेवाको प्रवर्द्धनलगायतका नमुना कार्यबाट नेपालले सफलता पाएको बताए। उनले सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्न भत्ता बाँडेर, प्रसूति सेवा निःशुल्क गरेर र अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकका रूपमा राखेर स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम ल्याएपछि उल्लेख्य सुधार आएको दाबी गरे। पिएमएनसिएचका कार्यकारी निर्देशक डा. कारोले मातृ र शिशु मातृदर घटाउन केही देश सफल भए भन्ने बुझाइबाट मात्रै पनि अरु देशले पनि फाइदा लिन सक्ने बताए। आफ्नै खालका चुनौती भएका यी देशले प्राप्त गरेको सफलता साँच्चिकै सराहनीय रहेको उनको भनाइ थियो। 'प्रगतिशील नीति, दक्ष प्रसूतिकर्मी र स्वास्थ्य संस्था र समुदायमा प्रवर्द्धन गर्ने बलियो राजनीतिक इच्छाशक्तिसँगै शिक्षा नीति, यातायात सुधार, सूचना र पानीको गुणस्तर, सरसफाइमा पहुँच नेपालको सफलताका तत्व हुन्,' उनले भने। प्रतिवेदनमा नेपालले बहुक्षेत्रीय समन्वय, महिलाको आर्थिक राजनीतिक सहभागिता, आर्थिक सुधार खानेपानी, आर्थिक विकास र सुशासन र शिक्षामा गरेको लगानीले पनि स्वास्थ्य क्षेत्रको प्रतिफलमा सघाएको उल्लेख छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar