नेवाः स्वायत्त राज्य मङ्काः सङ्घर्ष समितिद्वारा आज बिहान यहाँ आयोजित एक कार्यक्रममा नेवाः आन्दोलनका अगुवा एवम् मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले आदिवासी जनजातिका लागि हक र अधिकार लिने सम्पूर्ण बाटो बन्द भइसकेकाले सडक सङ्घर्षबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।
विगतमा राजनीतिक पार्टीहरुले थालेको प्रजातान्त्रिक आन्दोलन सम्पूर्ण नेपाली जनताको मुक्तिको आन्दोलन हुने विश्वासका साथ आफू लागेको बताउँदै उहाँले यसअघिका सबै आन्दोलन सफल भएपनि आदिवासी जनजातिको अधिकार अझैसम्म स्थापित हुन नसक्नु दुर्भाग्यपूर्ण हो भन्नुभयो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले जनजाति आन्दोलनको उत्थानको समयमा रचिएका कविता वाचन गर्दै आदिवासी जनजातिहरुको मुक्तिका लागि आफू निरन्तर लडिरहेको र बताउनुभयो ।
नेवाः स्वायत्त राज्य मङ्काः सङ्घर्ष समितिका सचिवालय संयोजक मल्ल के. सुन्दरले अधिकार प्राप्तिका लागि अब सङ्घर्षबाहेक अरु कुनै बाटो नभएको बताउँदै पहिचान पक्षधरहरुलाई विखण्डनकारी भनी लगाइएको आरोप अधिकार नदिन षडयन्त्र मात्रै हो भन्नुभयो ।
सङ्घर्ष समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति सुजीव बज्राचार्यले पहिचान पक्षधरको आन्दोलनलाई गति दिन काठमाडौँ महानगरपालिकाको विभिन्न वडामा नेवाः प्रदेश जागरण अभियान थालेको बताउनुभयो ।
कार्यक्रममा सङ्घर्ष समितिका सदस्य मचाराजा महर्जन र सानुकाजी महर्जनले पनि पहिचानसहितको संविधान निर्माणका लागि दबाब दिनुपर्ने बताउनुभएको थियो । रासस


0 comments:
Speak up your mind
Tell us what you're thinking... !