धादिङ, श्रावण १४ - अरूकै जग्गामा बनाएको चारैतिरबाट हावा छिर्ने छाप्रोमा गुजारा गर्दै आएका बुधराम चेपाङले कहिल्यै सोचेका थिएनन्, आफ्नै घर र बैंकमा पैसा। आठ वर्षसम्म आँखाको ज्योति गुमाएका उनले घर र पैसा त परैको कुरा, फेरि देख्न पाउँछु भन्नेसम्म ठानेका थिएनन्। तर ८० वर्षे उनको जिन्दगी यसरी बदलियो कि, यी तीनै कुरा पूरा भए। यतिखेर बेनीघाट ७ स्थित ग्याजामा आफ्नै नाममा पक्की घर छ। खातामा १ लाख ५० हजार जम्मा भइसकेको छ। सुस्त मनस्थितिकी छोरी साथमा रहेकी बुधरामको आँखाको उपचार पनि भइसकेकाले उनले 'बुढेसकालमा बल्ल भाग्यसँग भेट भएको' ठानेका छन्।
दुई वर्षअघि कान्तिपुरमा 'जाडोमा काम्दै चेपाङ' शीर्षक समाचार छापिएपछि उनले सोच्दै नसोचेको पूरा भएको हो। उनीसँग सुस्त मनस्थिति भएकी छोरी छन्। दुवैको नजिकबाट हेरविचार बुधरामकी आफन्त पर्ने नातिनी बुहारीले गर्छिन्। 'मेरो जुनी फेरियो,' बुधरामले भने, 'तर भाग्य फेरिएको देख्ने बेलामा श्रीमती बितिन् ।' समाचार आएपछि जनता आवास कार्यक्रमले घर बनाइनसक्दै र बैंक खातामा रकम दिनेको ओइरो लाग्दै गर्दा उनकी ६९ वर्षीया श्रीमतीको घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भयो। त्यतिबेला घरबारविहीन चेपाङ दम्पतीको नाममा तीन बाख्रा मात्रै थिए, छाप्रोमा ओढ्ने/ओछ्याउने समेत थिएनन्। वर्षाका बेला रुझ्दै रात बिताउने बाध्यता थियो। त्यो अवस्थाबारे फोटो र समाचार सार्वजनिक भएपछि लत्ताकपडा र सहयोग रकम देशविदेशबाट जुट्यो।
आँखा नदेख्ने बुधरामको महाराजगन्जस्थित शिक्षण अस्पतालका डा. दीपक महराको सहयोगमा डा. सगुन जोशीले शल्यक्रिया गरिदिए। घर र बैंकमा पैसा भएपछि आफन्तको समेत सहारा पाउन थालेका छन्।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !