काठमाडौं, आषाढ ३० । अर्जेन्टिनालाई हराउँदै जर्मनी विश्व फुटबलको नयाँ च्याम्पियन बनेको छ । ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्यो ।खेलको निर्धारित ९० मिनेटभित्र दुबै टोलीले गोल गर्न सकेनन् ।
दुवै टोलीले केही राम्रा अवसर खेर फाल्दा अर्जेन्टिनाका
गोन्जालो हिगुवानले गरेको गोल अफसाईड घोषित भएको थियो । निर्धारित समयभित्र गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा जर्मनीका मारीयो गोत्जेले निर्णायक गोल गरे । खेल सकिन ७ मिनेट मात्रै बाँकी छँदा सब्ष्टीच्यूट खेलाडी गोत्जेले आन्दे्र श्रुलको पासमा गोल गरेका हुन् । यसपछि अर्जेन्टिनाले गोल फर्काउन नसक्दा लियोनल मेस्सीको टोली फाईनलसम्म पुगेर पनि उपाधिविहीन बनेको हो ।
जर्मनीको लागि यो चौथो विश्वकपको उपाधि हो । यसअघि जर्मनीले सन् १९५४, १९७४ र १९९० को विश्वकप फुटबल जितेको थियो ।पछिल्लो उपाधिसँगै जर्मनी अमेरिकी महादेशमा विश्वकप फुटबलको उपाधि जित्ने पहिलो युरोपियन राष्ट्र बनेको छ ।
साथै जर्मनी विश्वकपको इतिहासमा चार पटक उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ । ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप फुटबल जितेको छ भने ईटालीले ४ पटक विश्वकप जितेको छ ।
यता पराजित टोली अर्जेन्टिनाको तेस्रो पटक उपाधि जित्ने सपना चकनाचूर भएको छ । पछिल्लो पटक १९८६ मा जर्मनीलाई हराएर उपाधि जितेको अर्जेन्टिना त्यसको ४ वर्षपछि १९९० को विश्वकप फाइनलमा जर्मनीसँगै पराजित भएको थियो ।
यसपटक पनि जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना विश्वकपको फाईनलमा तीन पटक पराजित हुन पुगेको छ । यसअघि १९९० को फाईनलमा जर्मनीसँग हारेको अर्जेन्टिना १९३० को पहिलो विश्वकप फाईनलमा भने उरुग्वेसँग पराजित भएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !