Headlines News :
>
Home » » पार लाउँछन् त प्रभुले?

पार लाउँछन् त प्रभुले?

Written By Unknown on Thursday, 25 December 2014 | 01:25

पार लाउँछन् त प्रभुले?
नेपाल धर्मनिरपेक्ष देश हो। नेपालको अन्तरिम संविधान २०६३ भन्छ– 'प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ। तर, कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन।' तर, थुप्रै दृश्य, घटना र प्रकरणलाई केलाउँदा यस्तो लाग्छ– गरिब, दुःखी र रोगी नेपालीलाई समृद्धि, सुख र सुस्वास्थ्यको आश देखाउँदै चर्चतिर आकर्षित गरिँदैछ। अम्मर जिसीले क्रिसमसमय काठमाडौँ डुलेर तयार पारेको सामग्री।

चार महिनाअघि मात्र धर्म परिवर्तन गरी क्रिस्चियन बनेकी धादिङकी २२ वर्षीया सम्झना तामाङ अहिले पाटन अस्पतालको मानसिक रोग विभागमा उपचार गराइरहेकी छिन्। गरिब परिवारकी सम्झनाका श्रीमान् ड्राइभर हुन्। जीउ काम्ने र छोप्ने व्यथाबाट पीडित उनले यो समस्या हटाउन धामीझाँक्री लगाउने, विभिन्न देवीदेवताको भाकल गर्ने, मन्दिरमा गएर बलि दिनेजस्ता काम थुप्रै पटक गरिन्। तर, केही सीप लागेन। दिक्दार भएकी सम्झनालाई केही इसाई धर्मावलम्बीले 'हाम्रो धर्ममा लागेपछि यस्तो समस्या तुरुन्तै निको हुन्छ' भनिदिए। त्यसपछि उनले रोग निको हुने आशमा धर्म परिवर्तन गरेकी थिइन्। उनको यो कदम श्रीमान्लाई मन परेको छैन। क्रिसमसको अवसरमा चर्चमा आयोजना हुने कार्यक्रमका लागि दिनुपर्ने चन्दा रकम श्रीमान्ले नदिएपछि उनले घरमा रहेका सिटामोल, डिकोल्डजस्ता औषधि जथाभावी सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन्। उपचारका लागि पाटन अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएकी उनलाई पछि मानसिक रोग विभागमा रिफर गरिएको थियो। उपचारका क्रममा उनी हिस्टेरियाबाट पीडित रहेको पत्ता लागेको छ। उनमा डिप्रेसनको समस्या पनि रहेको चिकित्सकले जानकारी दिए।
०००
पूर्वी नेपालमा रहेको एक मिसन अस्पतालमा छोप्ने (मिर्गी) रोग लागेका एक बिरामीको उपचार हुँदै थियो। उपचारकै क्रममा ती बिरामीले धर्म परिवर्तन गरे। धर्म परिवर्तन गरेर क्रिस्चियन बनेपछि उपचारमा सहयोग हुन्छ, प्रभु येशुको प्रार्थना गर्न थालेपछि उपचार नै चाहिँदैन भन्दै बिरामीलाई धर्म परिवर्तन गर्न लगाइएको थियो। औषधि सेवन गर्न थालेको एक महिनामा नै धर्म परिवर्तन गरेका उनले त्यसपछि औषधि सेवन गर्नै छोडे। 'कम्तीमा दुई वर्ष सेवन गर्नुपर्ने औषधि एक महिनामा नै छोड्न लगाएर बिरामीलाई धर्म परिवर्तन गराउने कामलाई के भन्ने?' ती बिरामीको उपचारमा संलग्न चिकित्सक प्रश्न गर्छन्। 'स्वेच्छाले धर्म परिवर्तन गर्नु व्यक्तिगत अधिकार भए पनि दुःखमा परेका मानिसलाई इमोसनल बार्गेनिङ गरेर धर्म परिवर्तन गराउनुलाई कुनै पनि दृष्टिले राम्रो मान्न सकिन्न,' ती चिकित्सक भन्छन्। सबै प्रभुले ठीक पार्छन् भनेर औषधि सेवन गर्नुपर्ने बिरामीलाई औषधि सेवन नै गर्नुपर्दैन भन्दै धर्म परिवर्तन गराउनु सरासर व्यक्तिको जीवनमाथिको खेलबाड भएको उनी बताउँछन्।
०००
पाटन अस्पतालमै कार्यरत एकजना चिकित्सक आफ्ना बुबालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गराउँदै थिए। उनी त्यही अस्पतालको डाक्टर भनेर नचिनेका केही क्रिस्चियन धर्म प्रचारकले 'प्रभु येशुको नाममा प्रार्थना गरौँ, हामी पनि गरिदिन्छौँ' भन्दै एप्रोच गरेका थिए। अस्पतालमा भर्ना भएका बिरामीहरू र तिनका आफन्तलाई प्रभु येशुको भक्त भएमा रोग निको हुने भन्दै धर्म प्रचार गर्नेहरू राजधानी तथा राजधानी बाहिरका प्रायः सबै अस्पतालमा पुग्ने गरेका छन्। 'यस्ता धर्मप्रचारकहरू अस्पतालका कर्मचारीलाई बिरामीको कुरुवाजस्तो भएर एप्रोच गर्ने र बिरामी तथा कुरुवाहरूलाई अस्पतालको कर्मचारी जस्तो भएर कुराकानी गर्ने गर्छन्,' ती डाक्टरले भने। आईसीयूको अगाडि बसेर येशुको प्रार्थना गरिदिने र परिवारका सबै सदस्यले प्रार्थना गरेमा निको हुने भन्दै दुःखमा रहेकालाई धर्म परिवर्तन गर्न अभिप्रेरित गर्ने गरिएको चिकित्सकहरू बताउँछन्। अस्पतालका बेडहरूमा येशुको पर्चा छ्यापछ्यापती पाइने गरेको छ। पाटन अस्पतालसँगै जोडिएको पाटन चर्चका पास्टर शेर एसीले पाटन अस्पतालमा धेरै वर्षअघिदेखि आफ्ना 'जवान'हरूले स्वंयसेवा गर्दै आएको बताए। 'हामी बिरामी र उसको आफन्तको केयर गर्छौं तर धर्म परिवर्तन गराउँदैनौँ,' उनले भने।
०००
सिजोफ्रेनियाजस्तो गम्भीर खालको मानसिक रोग लागेकाहरूलाई पनि येशुको भजन गाउन र प्रार्थना गर्न थालेपछि रोग निको हुन्छ भनेर भ्रम फैलाउनेहरू छन्। चिकित्सकले पटकपटक ईसीटी दिएर उपचार गरेका कतिपय सिजोफ्रेनियाका बिरामीलाई पनि क्रिस्चियन धर्मप्रचारकले बीचैमा उपचार छोड्न लगाएको थुप्रै उदाहरण भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। पाटन अस्पतालमा कार्यरत एक चिकित्सक उपचार सुरु गरेको एक हप्ता बित्न नपाउँदै 'म त विश्वासी भइसकेँ, अब औषधि खान्नँ' भन्दै आउने बिरामी प्रशस्तै हुने गरेको बताउँछन्।
०००
c3
क्रिसमसको तामझाम बुझ्दै चर्च धाउँदा हामीलाई पनि 'विश्वासी' बन्न धेरै प्रस्ताव आए। आफ्नो संस्थाप्रति आकर्षित गर्न उनीहरू नयाँ व्यक्ति भेट्यो कि हरसम्भव प्रयत्न थालिहाल्दा रहेछन्। केहीले भने इसाई धर्मका नाममा विकृत अनुहारहरूको फन्दाबाट बच्न सचेत गराए।
सुरुमा ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डली पुग्दा त्यहाँका मिनिस्ट्री कोअर्डिनेटर सिमोन पाठक यस्तै विकृतिले आजित बनाएकोमा चिन्तित देखिए। 'क्रिस्चियनका नाममा हाम्रो आस्था र विश्वासलाई नै धमिल्याउने तŒवहरू छ्यापछ्यापती भइसके,' उनले भने, 'लोभलालच देखाएर धर्म परिवर्तन गराउनेहरू बाइबल शिक्षाको विपरीत छन्। यस्तो भ्रमको खेती लामो समय टिक्दैन।' उनका अनुसार 'फकाएर होइन, आत्माले चाहेर मात्र प्रभु येशुलाई मनमा राखे जीवन बदलिने हो। जापानिज, चाइनिज, कोरियनहरूले नेपालीलाई प्रयोग गरेर आफ्ना उद्देश्य पूरा गरिरहेका छन्।' उनकै जानकारीका आधारमा भत्केको पुलतिर 'भ्रम फैलाउने चर्च'हरू खोज्न थालियो।
०००
नयाँ बसपार्कमा घरैपिच्छे होटल छन्। एउटा होटलमा गएर अर्को होटलको लोकेसन सोध्यो भने जानकारी भएर पनि 'थाहा छैन' भन्दै झर्किन्छन् व्यापारीहरू। टोलटोल र गल्लीगल्लीमा खोलिएका चर्चहरूले पनि त्यसकै झल्को दिने गरी एकले अर्कालाई प्रतिस्पर्धीकै नजरले हेर्ने गरेको पाइयो।
चाबहिलको एउटा घरको भुइँतलामा एउटा कोठा भाडामा लिएर शनिवार केही मान्छे जम्मा हुने गर्दा रहेछन्। ढोकाबाट नियाल्दा केही युवायुवती आआफ्नै तालमा भुलिरहेका थिए। कोही हातमा रजिस्टर बोकेर पैसा उठाउँदै थिए। आफूलाई पास्टर बताउने एक युवाले 'बाहिरै कुरा गरौँ' भन्दै भित्र नछिर्न आग्रह गरे। 'भित्र हामी आफ्नो काम गर्दैछौँ। डिस्टर्ब हुन्छ,' उनले भने, '१५–२० जना जम्मा हुन्छौँ। भर्खरै खोलेका हौँ चर्च। तपाईं पनि आउन सक्नुहुन्छ।' उनले पनि भ्रम फिजाउने चर्चहरू 'यतै कतै छन्' भन्दै लोकेसन नदिई बिदा गरे। खोज्दै जाँदा केही घर तल अर्को चर्च भेटियो। जसलाई स्थानीयले 'गुरुङहरूको चर्च' भनेर चिन्दा रहेछन्। 'पुल पारितिर कोरियन, जापानिजहरूका लोभ देखाउने चर्च रहेको' भन्दै त्यहाँका एक अगुवाले पनि आफूलाई जोगाउन खोजे। उनले बसुन्धरातिर त्यस्ता धेरै चर्च रहेको जनाउ दिए।
बसुन्धरास्थित अनन्त आशा मण्डलीका पास्टर तितस राईले आफूहरूले कुनै पनि लोभ नदेखाउने गरेको तर लोभ देखाउनेहरू धेरै रहेको बताए। 'मैले उपचार, सम्पत्तिजस्ता लोभ देखाएर धर्म ग्रहण गराएँ भने भूल हुनेछ,' उनले भने, 'मनैदेखि विश्वास गरेर लाग्नुपर्छ। कुनै बेला नसोचेकै सफलता मिल्न सक्छ।' कसले फिजाउँछ त भ्रम? उनले पनि 'यतै कतै छन्' भने। 'गलत शिक्षा दिनेहरू' भनेर बसुन्धराकै 'कोरियनहरूको चर्च'का नामले चिनिने 'मिसन चर्च'लाई संकेत गरे उनले।
पुरानो घर साँघुरो भएर ठूलो हलमा सरेको रहेछ, 'वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड'। शनिवार त्यहाँ निकै चहलपहल थियो। बेलुका ४ बजेतिर त्यहाँ पुग्दा सरोज राई नाम गरेका व्यक्तिले 'तपाईं नयाँ हो?' भन्दै काउन्सिलिङका लागि एक सदस्यलाई खटाइहाले। आफ्नो नाम खुमबहादुर राई बताउने ती सदस्यले काउन्सिलिङ थाले। 'हामी बाइबललाई जस्ताको तस्तै ग्रहण गर्छाैं,' उनले भने, 'अरूले थपघट गर्छन्। हामी रोमन क्याथोलिक पनि होइनौँ, प्रोटेस्टेन्ट पनि होइनौँ। नेपालमा हामी जस्ता १ सय ५३ वटा चर्च छन्।' उनीहरू येशुलाई माता भन्छन्। क्रिसमस पर्व मान्दैनन्। 'पहिला बप्तिस्मा लिनुस्। अनि बल्ल चंगाई (उपचार) को कुरा गरौँला,' उनले प्रार्थना थाल्न आग्रह गरे। नयाँ मान्छे देख्यो कि यसरी काउन्सिलिङ सुरु हुन्छ।
विभिन्न चर्चमा पुग्दा उनीहरू आफूलाई सही र अरू सबैलाई गलत देख्थे। उनीहरू आफ्नो चर्चमा धेरै संख्या देख्न चाहन्थे। उनीहरूबीच सदस्यको खिचातानी पनि हुँदो रहेछ। ज्ञानेश्वर चर्चका पाठकले 'हाम्रो चर्च वरपर कोरियन, जापानिजहरू फकाउन आएका हुन्छन्' भन्नुले पनि त्यसलाई पुष्टि गर्छ। 'वर्ल्ड मिसन'का खुमबहादुर पनि भन्दै थिए, 'हाम्रा सदस्यहरूलाई उल्टै उनीहरूले तान्न खोजिरहेका हुन्छन्।' पाटन चर्चका शेर एसीले आफूहरूले प्रभावित गर्नकै लागि केही नगरेको बताए। 'अरूले त स्कुल, अस्पताल खोलेर हरसम्भव प्रभावित गर्ने काम गरिरहेका हुन्छन्,' उनले भने, 'हामी त पाटन अस्पतालमा स्वयंसेवाबाहेक अन्य केही गर्दैनौँ।' चर्च खोल्ने मापदण्ड भए पनि त्यसलाई 'फलो' नगरी दुईचार जना मिलेर संगति गर्न भन्दै चर्च नै खोल्ने गरेको उनले बताए।
पछिल्लो जनगणनाअनुसार नेपालमा किस्चियन जनसंख्या १ दशमलव ४ प्रतिशत अर्थात् लगभग पौने चार लाख छ। यो धर्मका अगुवाहरू भने जनगणना तथ्यांकसँग सहमत छैनन्। आफूहरूको संख्या २० लाख रहेको उनीहरूको दाबी छ। उनीहरू देशभर छ हजारभन्दा बढी चर्च भएको दाबी गर्छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar