Headlines News :
>
Home » » प्रोटोकल (न) मिचिने मामला

प्रोटोकल (न) मिचिने मामला

Written By Unknown on Tuesday, 9 September 2014 | 20:54

devendra
सिँचाइमन्त्री एनपी साउद र भारतका केन्द्रीय कृषिमन्त्री
राधामोहन सिंह नयाँदिल्लीमा गत शुक्रबार भेटवार्ता गर्दै।
 तस्बिर सौजन्य: नेपाली दूतावास, दिल्ली।




अर्थमन्त्री डा.रामशरण महतले सोमबार (सेप्टेम्बर ८) अपरान्ह ६ बजे जवाहरलाल नेहरू भवनमा भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गरे। भारतीय विदेश मन्त्रालयले यो औपचारिक भेटघाटको तस्वीरलाई साँझ ७ बजे आफ्नो वेबसाइटमा 'अपलोड' गरिसकेको थियो। उक्त शिष्टाचार भेटमा भारतीय विदेश मन्त्रालयका सहसचिव अरुणकुमार साहु, नेपाली दूतावासका काउन्सिलर तीर्थराज वाग्लेसहितको उपस्थिति थियो। अघिल्लो सोमबार (सेप्टेम्बर १) अपरान्ह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच भारतीय विदेश मन्त्रालयमा भेटवार्ता भयो। एमाले निकट भ्रातृ संगठन, प्रवासी नेपाली संघले जारी गरेको विज्ञप्तिअनुसार ओली र स्वराज बीचको यो 'शिष्टाचार भेट' थियो। भेटवार्तामा भारतीय विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर उपस्थित थिए भने ओलीका साथमा उनका सहयोगी राजेश बज्राचार्य र प्रवासी नेपाली संघका महासचिव युवराज बास्कोटा 'यज्ञ' थिए।
यी दुई समाचार विवरणपछि एसएलसी तहको एउटा विद्यार्थीका सामु उपरोक्त बयान सामुमा राख्दै समीक्षात्मक विवेचना गर्न अह्राउने हो भने पनि सारा दृश्य स्पष्ट हुन्छ। अर्थमन्त्री डा.महत न समकक्षी भेट्न दिल्ली आएका थिए, नत उनी अरु भेटघाटको औपचारिक निम्ता बोकेरै दिल्ली उत्रिएका थिए। तर महतले दिल्लीस्थित नेपाली दूतावासलाई आग्रह गर्दै विदेश मन्त्रीसँग भेटघाटको तारतम्य मिलाउन भनेकाले यो झन्डै 'औपचारिक' कार्यक्रमझैं बन्यो। त्यही भएर विदेश मन्त्रालयले तत्कालै भेटघाटको तस्वीर सार्वजनिक गर्‍यो, थप विवरण चाहेको खण्डमा हाम्रै दूतावासले उपलब्ध गराउन सक्यो। दुई नेताका बीचमा भएको कुराकानीबारे दूतावासले 'टिपोट' राख्न पनि पायो।
अर्कातिर पूर्व परराष्ट्रमन्त्री, एमाले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष ओलीको भेटघाट भने पार्टीगत घेराबन्दीमै सीमित रह्यो। उपचारकै लागि आएको भए पनि एमाले अध्यक्ष ओलीको राजनीतिक बृहत्तर भेटघाटको यस पटकको चाहना तीव्र थियो। भारतीय जनता पार्टी अध्यक्ष अमित शाहदेखि सम्भव भएमा प्रधानमन्त्री नरेन्द्र मोदीसम्मै भेटघाट गर्न ओली घेराबन्दी तम्सिएको थियो। तर केही पार लागेन। विदेशमन्त्री स्वराजलाई भेटेको विवरण न भारतीय विदेश मन्त्रालयको सूचनापाटीमा देखियो, नत कतै औपचारिक जानकारीमै आयो। ओलीका निकटस्थहरूले साँझमा फोन गरेर विवरण टिपाएपछि र तस्वीर इमेलमा पठाएपछि मात्रै 'भेट भएको' पुष्टि हुने स्थिति थियो। जबकि ओलीसँग विदेशमन्त्री स्वराजले गरेको कुराकानी भारत सरकारका तर्फबाट भने सहसचिव अभय ठाकुरले 'टिपोट' गरिरहेका थिए, उनले रेकर्डमा राखेका थिए।
विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा हाम्रा नेताहरूले भुलेको अति सामान्य शिष्टाचार र पद्धतिको मामला यहींनेर छ। परराष्ट्र मन्त्रीसमेत भैसकेका नेता ओलीले भारतीय विदेश मन्त्रीसँगको शिष्टाचार भेटमा नेपाली दूतावासका कोही अधिकारीसमेत लिएर जान नचाहनु कित ओलीको 'अज्ञानता' हो। वाकपटु ओलीले आफूसँग भैरहेको कुराकानी विदेश मन्त्रालयका पदाधिकारीले 'टिपोट' गरिरहेको देखे वा देखेनन् -?) भन्न मुस्किल छ। तर नेपाली दूतावासका जिम्मेवार अधिकारीले कुनै सहयोग चाहिएमा भन्नका लागि अनुरोध गर्दासमेत 'आवश्यक परे भनौंला' भन्दै उम्कने नेता ओली र उनका कार्यकर्ताको स्वभाव यसपटक आफैंमा अलौकिक देखिएको छ।
दिल्ली केन्द्रमा तत्काल देखिएका यी उदाहरणसँग प्रोटोकल अर्थात शिष्टाचारका मामला पनि गाँसिएका छन्। दिल्लीमा रहेको नेपाली दूतावासलाई धेरै जनसाधारणले गालीगलौज गरिरहेका बेला जिम्मेवार भनिएका नेतागणले आफ्नो नियोगलाई गर्ने व्यवहार र 'इग्नोर' गर्ने सनातन प्रवृत्ति पनि अब बहसमा आउनु जरुरी छ। पछिल्ला दिनमा दिल्ली 'ट्रान्जिट'मा आएका राजनीतिक दलका नेता वा मन्त्रीले दूतावासमार्फत शिष्टाचार भेटको पहल गरेमा एउटा तहसम्म तत्कालै सम्पर्क कायम हुनसकेको देखिन्छ। अमेरिका हुँदै दिल्ली ट्रान्जिटमा आएका सिंचाइमन्त्री एनपी साउदले दिल्लीका केन्द्रीय कृषिमन्त्री राधामोहन सिंहलाई भेटेनन् मात्रै, नेपालमा कृषि विश्वविद्यालय खोल्नेदेखि अर्गानिक खेती बढाउनेसम्मका 'औपचारिक वार्तालाप' गर्नसमेत भ्याए। 'ट्रान्जिट'मा रहेका कृषिमन्त्री साउदलाई भेट्न विदेश सचिव सुजाता सिंह ताजमानसिंह होटलसम्म आएर शिष्टाचार निभाइन्। अघिल्लो साता श्रीलंका जाने क्रममा दिल्ली ट्रान्जिटमा उत्रिएका सहरी विकासमन्त्री नारायण खड्कालाई भेट्न विदेश मन्त्रालयमा विकास परियोजना हेर्ने सचिव सुजाता मेहता दूतावासमै पुगेकी थिइन्।
सधैंजसो नेपाल होइन्जेल पद्धति र प्रणालीको बहस गर्दै 'प्रोटोकल'मा प्रश्न गर्न तम्सिनेहरू दिल्ली उत्रिएपछि भने अर्कै बनेका देखिन्छन्। जैशीकोठा, मुन्सीखाना, परराष्ट्र विभाग हुँदै बनेको परराष्ट्र मन्त्रालयमा उहिलेदेखि अहिलेसम्म बहसमा रहेको एउटै मामला छ, प्रोटोकल। तर यो प्रोटोकलमा 'आफूमाथि गरिने व्यवहार त्यति उल्लेख्य कुरा होइन, जति आफूले अरुमाथि गरिन्छ' भन्ने चेत भने अझै पलाइसकेको छैन।
राज्य तहबाट प्रतिनिधित्व गरेर आउने नेतागण चाहे स्वास्थ्य उपचारमा आउन् अथवा छोराको एमबीबीएस भर्ना गर्न भनसुनमा दिल्ली धाएका हुन्, त्यसको 'रेकर्ड' राज्यले राख्न पाउनुपर्छ। त्यसमा पनि शिष्टाचार भेटको 'रेकर्ड' त रहनैपर्छ। वरिष्ठ नेता ओलीको दिल्ली भेटघाटबारे प्रवासी नेपाली संघले जारी गरेको विज्ञप्ति के राज्यको रेकर्डमा रहन्छ? कि यस्तो भेटघाटमा पार्टीगत घेरबन्दीबाट उठेर कूटनीतिक नियोग वा पदाधिकारीको समन्वय सम्भव छैन? धेरैले भन्ने 'प्रोटोकल'को अहिलेसम्म नउठेको बहसको विषय हो यो।
कोसँग कसरी भेट्ने, कुन हैसियत र वरियतामा भेट्ने, कसरी अनुमतिपूर्वक भेट्ने जस्ता नियमबद्ध कुराहरूलाई अघि सारेर तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ लगायतले शिष्टाचार नियमावली ल्याएका हुन्। तर यही नियमावलीमा सबैभन्दा बढी हुर्मत बेहोर्नेहरू पनि नेता यादव अथवा नारायणकाजी पार्टीका शीर्षस्थहरू नै छन्। गत जुलाई ९ मा काठमाडौं गएका तत्कालीन भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि द्धारिकाज होटल पुगेका थिए। खुर्सिदले 'आफ्नो ९ घन्टे काठमाडौं भ्रमणमा ५ जना नेपालका पूर्वप्रधानमन्त्रीलाई आफू बसेकै आसनमा भेट्न पाएका थिए' भन्ने खबर अझै पनि सेलाएको छैन। त्यो बित्दो बिग्रँदोपछि एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले टवटरमार्फत आत्मालोचना गरेका थिए, 'राष्ट्रियताजस्तो संवेदनशील मामलामा राष्ट्रिय सहमति बन्नैपर्छ। मुख्य कुरा सारपक्ष हो, तर रूपपक्षमा पनि ध्यान दिनैपर्छ। खुर्सिदबारे ध्यान पुगेन।'
'ध्यान' उता मात्रै होइन, यता पनि पुग्ने गरेको छैन। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एकजना आफन्तको विवाह साइतमा राजस्थान पुगेको अवसरको 'ट्रान्जिट'मा दिल्ली उत्रिएर तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गर्न कार्यकक्षमै पुगेका थिए। आफूले केजरीवाललाई भेटेको बयान 'सगर्व' सुनाइरहेका बेला नेता नेपाललाई उनको 'ओहदाको प्रमाणपत्र'बारे जनाउ दिने कोही थिएन। तर परराष्ट्र मन्त्रालय अथवा संसदबाट शिष्टाचार नियमावली ल्याउनुपरेमा चर्को आवाज गर्नेमा यिनै गन्यमान्य र सबैजसो नेतागणहरू पर्नुहुन्छ।
प्रोटोकलको तालमेल र 'रेकर्ड' बिनाका गतिविधिबारे सूचना जम्मा गरिरहेका बेला मंगलबार बिहान फेरि खबर आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले सोमबार साँझ विदेशमन्त्री सुषमा स्वराजसँग शिष्टाचार भेट गरेका छन्। तर तस्वीर सहितको र पुष्टि हुनेगरी यसको थप विवरण आइहालेको छैन। सायद यसबारे जानकारी पनि राप्रपा पार्टी कार्यालयले उतैबाट दिनेछ, दिल्लीस्थित नेपाली दूतावास यो भेटघाटबारे 'बेखबर' छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar