Headlines News :
>
Home » » सभासदको विदेश लर्को

सभासदको विदेश लर्को

Written By Unknown on Tuesday, 9 September 2014 | 21:15


savasad


काठमाडौ, भाद्र २५ - संविधान निर्माणको काम छाडेर प्रमुख दलका नेता तथा सभासदहरू धमाधम विदेश सयरमा लागेका छन्। विदेश नजान सभामुख सुवास नेम्वाङले बारम्बार दिएको आदेशको समेत अवज्ञा गर्दै उनीहरू सयरमा लागेका हुन्। यतिखेर अर्थसमितिका सभापति प्रकाश ज्वालासहितका सांसदहरू मलेसिया र सिंगापुर भ्रमणमा छन् भने अन्य सभासदहरूको जम्बो टोली श्रीलंका र चीन जाने तयारीमा छ।
सभामुख नेम्वाङले उनीहरूको विदेश सयर आफ्नै प्रतिबद्धताविपरीतको कदम भएको बताए। 'माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धतासहितको कार्यतालिका उहाँहरूले नै बनाउनुभएको हो,' उनले भने, 'जनताबाट चुनिएर आएका जिम्मेवार नेताहरू नैतिक प्रश्नमा आफैंले हेक्का राख्नुपर्ने हो।'
स्रोतका अनुसार श्रीलंकाको कोलम्बोमा असोज ३ देखि ५ सम्म हुने एसियाली राजनीतिक दल (आईक्याप) को आठौं सम्मेलनका लागि कांग्रेस, एमाले र एमाओवादीका वरिष्ठ नेताहरूको टोली जाँदैछ। संसद्मा महत्त्वपूर्ण भूमिकामा रहेका नेतासहितको अर्को जम्बो टोली चीन भ्रमणको तयारीमा छ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा छुट्टाछुट्टै टोली 'आईक्याप' सम्मेलनका लागि कोलम्बो जान लागेको हो। आईक्यापका स्थायी समिति सदस्यसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो सट्टा खनाललाई जान भनेको बल्खु स्रोतले बतायो। कोइराला आईक्यापको महिला सेलकी उपाध्यक्ष हुन्। एसियाली मुलुकका संसद्मा प्रतिनिधित्व रहेका दलहरूको उक्त संगठनमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, मधेसी जनअधिकार फोरम नेपाल सदस्य छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १० दिनका लागि भदौ २९ गते बेइजिङ जाने टोलीमा एमालेबाट नेता राजेन्द्र पाण्डेसहित ४, कांग्रेसका ३ र एमाओवादीका दुई सभासद छन्। एमाले संसदीय दलले औपचारिक रूपमा प्रमुख सचेतक चयन नगरे पनि पाण्डेले उक्त जिम्मेवारी सम्हाल्दै आएका छन्। चिनियाँ दूतावासले नै छनोट गरेको टोलीमा दीपक गिरी, अशोक कोइराला, भरतबहादुर खड्का, लालबहादुर राउत, सिन्धु जलेसा बुढाथोकी, रेखा शर्मा र एमाओवादीका एक जना छन् ।
 अर्थसमितिका सभापति ज्वाला नेतृत्को मलेसिया-सिंगापुर भ्रमणमा जगदीश्वरनरसिंह केसी, सीपी मैनाली, गोपाल दहित, जनार्दन ढकाल, विक्रम पाण्डेलगायत सांसदहरू बिहीबार स्वेदश र्फकंदैछन्। मलेसिया सरकारको आन्तरिक खरिद ऐनसम्बन्धी अध्ययनका नाममा उनीहरू मलेसिया-सिंगापुर भ्रमणको चाँजो मिलाएको संसद् सचिवालय स्रोतले जनाएको छ। 'यी कुनै पनि भ्रमण सचिवालयको व्यवस्थापन र खर्चमा होइन,' ती अधिकारीले भने, 'निर्माण व्यवसायमा सम्बद्ध व्यापारीले खर्च बेहोरका हुन्।' भ्रमणमा सहभागी कतिपय सभासद ठेक्कापट्टाको कामसमेत गर्छन्। सभामुख नेम्वाङले उक्त भ्रमणबारे सचिवालयसँग विवरण माग गरेका छन्।
संविधानको काम छाडेर विदेश नजान संसदीय दलबाट दबाब दिएपछि एमाओवादी सांसद शक्ति बस्नेत, कांग्रेस नेतृ कमला पन्त र उदयशमशेर जबराले भने अन्तिम समयमा सिंगापुर भ्रमण स्थगित गरेका थिए। चीन र कोलम्बो भ्रमण टोलीमा परेका एमाले नेता भानुभक्त ढकालले पनि दुवै अवसर छाडेका छन्। 'संविधान निर्माणमा जुट्नुपर्ने र सभामुखले गर्नुभएको रुलिङका कारण नजाने निर्णय गरेको हुँ,' ढकालले भने।
कांग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठका अनुसार सांसदलाई विदेश भ्रमणको स्वीकृति दिइएको छैन। विघटित संविधानसभाका सदस्यहरूले गरेका विदेश भ्रमणहरूको चौतर्फी आलोचना भएपछि सभाध्यक्ष नेम्वाङले विदेश भ्रमण निरुत्साहित गर्न खोजेका थिए। उनी आफंैले सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईपीयू) समेत छाड्दै आएका छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar