नेपाली कामदारको व्यवस्थापनबारे वरिष्ठ सरकारी अधिकारीहरूसँग विचारविमर्श गर्न मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम नेपालको दुईदिने कार्यगत भ्रमणका सिलसिलामा आज अपराह्न नेपाल आइपुगेका छन् ।
बङ्गलादेशको भ्रमण पूरा गरी नौ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका मन्त्री जइमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्यप्रसाद श्रेष्ठ र यहाँस्थित मलेसियाली राजदूतावासका कार्यबाहक राजदूत फड्ली अडिल्हाले स्वागत गरे ।
प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग उनले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्तामा उनले द्विपक्षीय श्रम सम्झौतालगायत पारस्परिक हित र चासोका विविध विषयका साथै नेपाली श्रमिकको हकहित संरक्षण, नेपालका वैदेशिक रोजगार व्यवसायीको त्यहाँका रोजगारदाता कम्पनीसँग प्रत्यक्ष सम्बन्ध स्थापना एवम् मलेसियामा बन्दी जीवन बिताइरहेका नेपालीलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने बारेमा छलफल हुने बताइएको छ ।
मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै सात लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि त्यहाँ नेपाली श्रमिकको माग बढेको हो ।
सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवम् आर्थिक विकासका गतिविधि सहजरूपमा सञ्चालन गर्न ठूलो सङ्ख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपालसँगको श्रम सम्बन्ध अझ सुदृढ बनाउँदै अधिकभन्दा अधिक नेपाली कामदारलाई मलेसियामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा उच्च सरकारी अधिकारीसँग वार्ता गर्न मलेसियाका गृहमन्त्री डा. अहमद जालिद हमिदी गत चैत १८ गते १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका थिए ।
भ्रमणको अन्त्यमा उनले शान्तिप्रेमी एवम् अत्यन्त परिश्रमी नेपालीलाई रोजगारीका थप अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै द्विपक्षीय श्रम सम्झौता शीघ्र गरिने घोषणा गरेका थिए ।
गत वर्ष मलेसिया सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाली श्रमिकले सन् २०१२ मा झन्डै रु ६३ अर्ब विप्रेषणका रूपमा नेपाल पठाएका थिए ।
बङ्गलादेश र इन्डोनेसियापछि उक्त देशबाट सर्वाधिक विप्रेषण नेपाललाई प्राप्त भएको थियो । नेपाल राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट पनि मलेसियामा कार्यरत नेपालीले रकम पठाउने भएकाले विप्रेषण आप्रवाह उल्लिखित उक्त रकमभन्दा अझ बढी भएको जनाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !