काठमाडौ, भाद्र ४ - खासमा सँगै रिलिज हुन लागेको 'सम्बोधन' ले डेट सार्ने भएपछि अर्को फिल्म 'ताण्डव' का निर्मातालाई चाहिँ बढी राहत मिल्नुपर्ने हो। तर यति बेला नायिका नम्रता श्रेष्ठ पनि एकदमै ढुक्क देखिएकी छन्।
"सम्बोधन' सरेपछि एकदम खुसी छु,' कान्तिपुरसँग कुराकानीको सुरुमै उनले भनिन्। उनी खुसी हुनुको कारण के हो भने, 'सम्बोधन' मा पनि उनी नै छिन्, फिमेल लिडमा। आफूले खेलेका दुवै फिल्म एकै दिन (भदौ ६) मा प्रदर्शन भएका भए उनलाई वास्तवमै बढी दबाब हुने थियो।
'दुवै फिल्म सँगै रिलिज हुने भनेपछि मलाई समय मिलाउनै गाह्रो भइरहेको थियो,' नम्रताले भनिन्, 'कलाकार भएपछि निर्मातालाई किन फिल्म जुधाएको भन्न पनि नमिल्ने। अनि एकसाथ चलाउँदा मिडियामा जान पनि समस्या।' उनलाई अब त्यस्तो समस्या नहुने भयो। आफ्ना शुभचिन्तक र दर्शकहरू बाँडिने पो हुन् कि भन्ने 'ठूलो डर' पनि अन्ततः हटेको छ।
'सम्बोधन' ले नम्रतालाई ढुक्क पारे पनि 'ताण्डव' अर्को फिल्म 'ठूली' सँग भने भिड्नै पर्नेछ। नम्रताले स्विकारिन्, 'अहिले कुनै न कुनै फिल्मसँग त जुध्नैपर्ने अवस्था छ। तर पनि आफ्नै फिल्मसँग जुध्दा जस्तो गाह्रो चाहिँ हुँदैन।' त्यसो त नम्रताले 'सम्बोधन' हेरेकी छैनन्, 'ताण्डव' को पनि रफ कट मात्रै हेर्न भ्याएकी छन्। सम्पादन पूरा नभएको र बिनासाउन्डको फिल्म हेर्दा कस्तो बनेको छ भनेर 'जज' गर्न नसके पनि 'एउटा फ्लो' चाहिँ छ रे। उनले दाबी गरिन्, 'जे होस्, इन्टरटेनमेन्ट चाहिँ पाउनुहुन्छ दर्शकहरूले।'
लभर गर्लका रूपमा दर्शकहरूले रुचाएकी नम्रतालाई 'ताण्डव' ट्रेलरमा भने अत्याधुनिक हतियार चलाएकी युवतीका रूपमा देखाइएको छ। एकाएक 'एक्सन लेडी' को क्यारेक्टर नम्रताले किन स्विकार गरिन् होला? उनको जवाफ छ, 'त्यो त डाइरेक्टरले के भन्नुहुन्छ, त्यसमा भर पर्ने कुरा हो। कलाकार भएपछि सधैं एउटै मात्रै क्यारेक्टरलाई जस्टिफाई गर्ने कुरा आउँदैन। भिन्न चरित्रमा देखिनुपर्छ। र, म पनि हरेक फिल्ममा मेरो चरित्र भिन्न होस् नै भन्ने चाहन्छु। त्यसले गर्दा त्यो चरित्रबाट मैले पनि केही सिकूँ भन्ने लाग्छ।'
उसो त नम्रताले यति लामो बोलिसकेपछि आफूले आत्मरक्षाका लागि मात्रै हतियार उठाएको जिकिर गरिन्। 'खासमा म बोर्डरमा रहेकी सेक्स वर्करको रूपमा देखिएकी छु,' उनले प्रस्ट्याउन खोजिन्। यस्तो रोल खेल्दा ब्याक फायर गर्ला कि भन्ने डर लागेन? आफूमाथिको प्रश्नमा नम्रता खुलिन्, 'यसअघि एचआईभी सचेतना सम्बन्धी सर्टफिल्म 'वशमा छैन मेरो मन' लेख्न प्रस्ताव आउँदा म यस्तै कन्फ्युज्डमा थिएँ। तर त्यो बेला ड्याडले 'तिमी नम्रता भएर चिनिने कि क्यारेक्टर भएर? आर्टिस्ट भइसकेपछि क्यारेक्टरबाट चिनिनुपर्छ न कि तिम्रो परिचयबाट' भनेर सम्झाएपछि अचेल कुनै पनि क्यारेक्टर गर्न हच्किन्नँ। यदि स्क्रिप्ट पढ्दा मैले त्यहाँ क्यारेक्टर देखें र त्यो रुचिकर लाग्यो अनि टिम पनि मिल्यो भने गर्छु।'
बेलायती मुरे केरको निर्देशन रहेको 'ताण्डव' मा नम्रतालाई साथ दिएका छन् आशिष रानाले। र्याप ब्याटलका पारखीका लागि उनी लाहुरेको नामले चिनिन्छन्। तिनै लाहुरे पहिलो पटक फिल्म खेलिरहेका छन्, त्यो पनि मुख्य भूमिकामै। आफूले आफैंलाई एकदमै लजालु मान्ने उनी एकै पटक फिल्म खेल्न प्रस्ताव आउँदा डराएका थिए। पछि डर हराउँदै गयो रे। उनले सुनाए, 'सुरुका दुई हप्ता मलाई अरूको सुटिङ मात्रै देखाइयो। त्यसले कसरी क्यामेरा फेस गर्ने भन्ने बुझ्न सहज भयो। पछि आफूले गर्दा फिडब्याक राम्रो पाउँदै गएँ। को-स्टारबाट पनि सहयोग मिल्यो। त्यसले काम गर्न सहज भयो।'
फिल्ममा स्मग्लरको भूमिकामा देखिने आशिषलाई फिल्म खेल्न भने यसको स्क्रिप्टले मोहनी लगायो रे। स्क्रिप्ट हातमा पर्दा पनि उनलाई आफ्नो रोल कुन हो भनेर थाहा दिइएको थिएन रे। उनले भने, 'निर्देशक मुरे पोखरामै आएर मेरो अडिसन लिएपछि राम्रो लागेरै खेलाउनुभयो। त्यो बेला को-स्टार मात्रै होइन, फिल्मको नाम पनि थाहा थिएन।'
र्यापर लाहुरेका रूपमा थुप्रै फ्यान कमाएका आशिषलाई फिल्म हेर्नका लागि पनि उनीहरू आउने विश्वास छ, 'आउलान् जस्तो लाग्छ। ५० प्रतिशतले त यसले कस्तो एक्टिङ गर्दो रहेछ भनेर जज गर्न आउलान्। बाँकी चाहिँ मन पराएरै आउँछन् होला।'
यति बेला अरू फिल्मका लागि पनि उनलाई अफर नआएको होइन, तर उनी फिल्म करिअरका लागि भन्दा पनि आफ्नै र्याप म्युजिककै दुनियाँमा रमाउन मन पराउँछन् रे। फिल्मको अभिनयले अब म्युजिक भिडियो खेल्न सहज हुनेमा चाहिँ उनी ढुक्क छन्, खुसी पनि।
नम्रता भने फिल्ममै पनि आशिषको राम्रो सम्भावना देख्छिन्। भनिन्, 'ऊ मिहिनेती छ। 'ताण्डव' गर्दा पनि उसलाई स्क्रिप्टको डायलग सबै कण्ठस्थ थियो। मलाई लाग्छ, एक्टिङमा अघि बढ्यो भने पनि उसले राम्रै गर्छ होला।' तर उनी ठूलो फ्यान सर्कल भएकाले आशिषले त्यो क्रेजलाई भने मेन्टेन गर्नैपर्ने ठान्छिन्।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !