Headlines News :
>
Home » , » देहव्यापारविरुद्ध कारबाही तीव्र

देहव्यापारविरुद्ध कारबाही तीव्र

Written By Unknown on Tuesday, 15 July 2014 | 03:01


sketch
काठमाडौ, असार ३१ - फस्टाएको यौनव्यापारविरुद्ध प्रहरीले इटहरीमा सुरु गरेको अपरेसनपछि अहिले यौनकर्मीको भागाभाग छ । मौसमी अभियानका रूपमा मात्रै प्रहरीले यस्तो अभियान चलाउने गरेका कारण यो पेसामा संलग्नहरू केही समय लुक्छन् । स्थिति सहज भएपछि फेरि सक्रिय हुन्छन् । इटहरीबाट वेदराज पौडेल, मोरङबाट अवधेशकुमार झा र झापाबाट पर्वत पोर्तेलको रिपोर्टः
असार सुरुलगतै खेतमा किसानलाई रोपाइँको चटारो पर्छ । पूर्व-पश्चिम चौरस्ताको सहर इटहरीलाई भने बेग्लै चटारो पर्‍यो । प्रहरीलाई होटल, लज र रेस्टुरेन्ट छापा मार्ने र यौनकर्मीलाई सुरक्षित थलोमा भाग्ने चटारो ।
उपमहानगर बन्ने तयारीमा रहेको इटहरीमा जसरी सहरीकरण बढ्यो, त्यसरी नै यहाँ होटल, लज र रेस्टुराँ खुल्ने क्रम बढ्यो । चौरस्ताको यो सहरमा हाल साना-ठूला गरी ४ सय ५० होटल, लज र रेस्टुराँ छन् । यही व्यवसायको आडमा यहाँ यौन व्यवसाय फस्टाएको छ । यसलाई निरुत्साहित गर्न प्रहरीले सुरु गरेको विशेष अभियानमा हालसम्म २ सयजना पक्राउ परेका छन् । यिनमा १२ जना होटल सञ्चालकविरुद्ध मानव बेचबिखनमा मुद्दा दर्ता भई कारबाही अघि बढेको छ भने अन्यलाई तारेखमा छाडिएको छ ।
दिनदिनै पक्राउ पर्नेलाई राख्ने ठाउँ साँघुरो भएपछि दुहबी र तरहरासम्मका प्रहरी पोस्टमा लगेर थुनिएको छ । पक्राउ पर्नेमा होटल व्यवसायी भनिने अधिकांश महिला छन् । होटलबाट तीन दर्जन यौनकर्मीलाई प्रहरीले उद्दार गरेको छ । बाध्यता बताएर यो पेसामा आएको भन्नेका लागि वैकल्पिक पेसा दिन आयआर्जन हुने सीप सिकाउन थालिएको छ । प्रहरीको यो अभियानलाई स्थानीय संघसंस्थाले सघाएका छन् ।
प्रहरी नायब उपरीक्षक विनोद शर्माले भने, 'विकल्प भए त्यस्तो पेसामा जान्नँ भन्नेहरूलाई पहिलो चरणमा सिलाइकटाइ तालिम दिन सुरु गरेका छांै ।' अभियान क्रममा पक्राउ गरी सार्वजनिक अपराध र मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइएकामा निकै धनाढ्य होटल सञ्चालक पनि रहेको उनले बताए । राहुल होटलका मनोज चौधरी, भेटघाटकी राधा आचार्य, सपनाकी सपना श्रेष्ठ, पारिजातकी ज्ञानु राई, बागमारेकी सरु भण्डारी, ओम गजलीकी राधा तामाङ, उनकी बहिनी रुपा तामाङ, राजमेरीकी रमा निरौला र शुभप्रभात होटलकी सुशीला बिष्टविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।  
यसअघि पनि प्रहरीले यौनकर्मीलाई नियन्त्रणमा लिने र सामान्य मुद्दा चलाएर छाड्ने गरेको थियो । तर, होटल सञ्चालकलाई भने प्रहरीले छुने हिम्मत गरेको थिएन । हालै सरुवा भएर यहाँ आएका डिएसपी शर्माले भने, 'हामीले स्पेसल अपरेसन नै सुरु गरेका छौं, यो कुनै व्यक्तिको अभियान होइन, प्रहरी र नागरिक समाजको अभियान हो ।'
होटलमा आएर बस्ने केटा र केटी जोडीलाई नचलाउने तर व्यावसायिक रूपमा देहव्यापार सञ्चालन गर्नेलाई खोजीखोजी पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको प्रहरीले दाबी गरेको छ । देहव्यापार गरेको र व्यवसायका आडमा यस्तो कर्म चलाउनेमाथि आरोप पुष्टि भए १० देखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
अभियानअघि प्रहरीले इटहरीमा बेलुका आठ बजे नै होटल बन्द गराउँदै आएको थियो । अहिले प्रहरी निगरानीमा राति १ बजेसम्म चलाउन दिएको छ । साँझ ७ बजे नै बन्द हुने इटहरी बजार राति ११ बजेसम्म खुल्न थालेको छ ।
यौनकर्मीलक्षित अभियानले बेलुका मदिरा सेवन गरेर हिंड्न नसक्नेलाई पक्राउ गरी थुन्ने या यातना दिने काम बन्द गरेको छ । प्रहरीले बनाएको नयाँ नियममा अत्यधिक मदिरा सेवन गरेकालाई भ्यानमा हालेर घरघरमै छाड्ने गरिएको छ । तर, अत्यधिक मदिरा सेवन गराउने होटलवाला भने कारबाहीमा पर्ने गरेका छन् ।  
खुलेआम हुने यौनधन्धा निरुत्साहित गर्न छापा मार्ने क्रम बढाएपछि पश्चिमलाइन र बसपार्कमा सञ्चालित क्याबिन रेस्टुराँ सबै बन्द भएका छन् । होटल व्यवसायी संघ इटहरीले पनि यो अभियानमा सघाउन थालेपछि प्रहरीको मनोबल बढेको हो । होटल संघ इटहरीका अध्यक्ष अनुरोध थापाले भने, 'होटल, लज र रेस्टुराँ चलाउन आचारसंहिता नै छ । त्यसको दायरा नाघेर काम गर्नेमाथि धरपकडको कारबाही हुँदा संघले बोल्ने कुरै छैन ।' यौन आग्रह झल्कने क्याबिन तथा होटलका नामसमेत परिवर्तन गर्न प्रहरीले उर्दी जारी गरेको छ । यौनकर्मी बढाउन मद्दत गर्ने टोले दादालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
कहाँबाट आउँछन्
विभिन्न एजेन्टले पूर्वका पहाडीलगायत जिल्लाबाट राम्रो जागिर दिने र धेरै पैसा कमाइने प्रलोभन दिएर विपन्न, अशिक्षित र घरेलु हिंसापीडित किशोरी ल्याउने गरेका छन् । एउटी किशोरी यौनकर्मी भइसकेपछि उसैको माध्यमबाट समेत यो पेसामा आउने गरेको पाइएको छ ।
पक्राउ परेमध्येकी स्कुलेजस्तो लाग्ने एक किशोरीले भनिन्, 'म पढ्न छाडेर घरै बसेकी थिएँ । काम पाइन्छ भनेर साथीको साथ लागेर आएकी ।' उनका अनुसार धेरैजना आसपासको गाउँ र पहाडबाट आएका छन् । होटलले ग्राहकसँग कुरा मिलाएपछि आफूहरूलाई खबर आउने र त्यसपछि कोठामा पुग्ने गरेको यौनकर्मीले बताएका छन् ।
प्रहरीका अनुसार १४ वर्षदेखि ६० वर्षसम्मका करिब ७ सय महिला यौनकर्मीले इटहरीलाई आफ्नो सुरक्षित बजारका रूपमा प्रयोग गर्दै आइरहेका थिए । कतिपयले आफन्तलाई नै यो पेसामा लगाएका छन् । केही स्थायी रूपमा नगरमा बसोबास गरेको र धेरै समयसमयमा ग्राहकका साथ तथा होटलको बोलावटमा आउने गरेकाहरू छन् । कतिपय यौनकर्मी भुटानी शरणार्थी, दार्जिलिङ, काभ्रे र काठमाडौंबाट आउने गरेको होटल व्यवसायी संघका अध्यक्ष अनुरोध थापाले बताए ।
ग्राहक को-को ?
इटहरीको यौन व्यापारका मूल ग्राहक भारतीय नै रहेको होटल सञ्चालक बताउँछन् । प्रहरीले छापा मार्ने क्रममा अधिकांश होटलबाट भारतीय नागरिक पक्राउ परेकाले पहिलो ग्राहक भारतीय नै हुने गरेको प्रहरीले समेत स्विकारेको छ । त्यसपछि विभिन्न सहरबाट विभिन्न पेसा तथा व्यापार गर्नेहरू नै आउने गरेका छन् ।
सुनसरी भन्सार सेतुबन्धका अनुसार असार दोस्रो सातादेखि भारतीय पर्यटकले नेपाल प्रवेशका लागि गाडीको इजाजत लिने क्रम एकाएक घट्यो । यसअघि साताका ४/५ सय निजी सवारीसाधन भेडेटार, धरान र इटहरी घुम्न जाने भन्दै इजाजत लिन आउने गरेका थिए । सहायक भन्सार अधिकृत अमित तिवारीले भने, 'एकाएक इन्डियन प्राइभेट गाडीले अनुमति लिन आउने क्रम एकदम पातलो भएको छ । सायद इटहरीमा प्रहरीको कडाइले हो जस्तो लाग्छ ।'  
इटहरीको नागरिक समाज पूर्वअध्यक्ष तथा प्राडा बद्रीविशाल पोखरेलले भने, 'यौन व्यापार सामाजिक फोहर हो । यसको सफाइको अभियान सराहनीय छ ।' नगरलाई बदनाम हुनबाट रोक्न यौन व्यापारलाई निर्मूलीकरण गर्न आवश्यक रहेको उनले बताए ।  
बसाइँ सर्दै
मोरङ- विराटनगर बसपार्क छेउको एउटा खाजाघरमा केही दिनयता काम गर्ने युवतीको संख्या बढदै गएको छ । बाहिरबाट झट्ट हेर्दा सामान्य चिया-नास्ता पसलजस्तो देखिने यहाँभित्र क्याबिन छन् । खासगरी भारतीय ग्राहकको चाप देखिने उक्त पसलमा पछिल्ला केही दिनयता ग्राहकलाई सेवा दिने नाममा ६/७ जना युवती राखिएका छन् । विगतमा पनि उक्त पसलमा काम गर्ने युवती नै देखिन्थे । दुई सातायता संख्या दोब्बर भएको छ ।
चार दिनअघि मात्र उक्त पसलमा काम गर्न आएकी एक युवतीले भनिन्, 'हामी इटहरीबाट यता आएका हौं । त्यता कामै गर्न गाह्रो भयो ।' उनले आफूजस्ता धेरैजना अहिले विराटनगर र अन्यत्र हिंडेको बताइन् । उनले भनिन्, 'पुलिसले बित्थामा दुःख दिन थाल्यो ।' इटहरीमा यौन व्यवसाय सञ्चालन गर्नेविरुद्ध अपरेसन चलिरहेका बेला विराटनगरमा भने प्रहरी नरम छ । ६ महिनाअघि होटल, लज छापा मार्ने क्रममा व्यक्तिगत अधिकारमाथि हस्तक्षेप भएको भन्दै आलोचना भएपछि मोरङ प्रहरीले निगरानी गर्न छाडेको छ । त्यसैले यहाँका होटल रेस्टुरेन्टमा काम गर्न बाहिरबाट आउनेहरू सुरक्षित भएका छन् ।
सीमासँग जोडिएको क्षेत्र भएकाले ग्राहक खासगरी भारतीय नागरिक नै छन् । 'इटहरीमा बस्दा चिनजानका इन्डियन कस्टमर छन् । उनीहरूसँगको कन्ट्याक्ट नटुटोस् भनेर विराटनगर आइयो', यहाँ आएकी एक यौनकर्मीले भनिन्, 'इन्डियन कस्टमरसँग बस्दा टिप्सको चिन्ता हुँदैन, कमाइ पनि राम्रो हुन्छ ।' इटहरी अपरेसनपछि सीमापारिबाट आउने ग्राहकको मूल बाटो रानी भन्सार नाका भएकाले विराटनगर उपयुक्त र सुरक्षित थलो भएको उनले सुनाइन् ।
इटहरीको यौन व्यवसायको चर्चा बिहारको कटिहार, पुणिर्यादेखि पटनालगायत सहरसम्म छ । कोसीब्यारेज नाकाबाट सवारी अनुमति लिएर इटहरीमा दिनहुँ ठेकेदार, सम्पन्न र जिल्ला राजनीतिमा पहुँच राख्नेहरू आउने गरेका थिए । इटहरीमा भएको कडाइले सबैको रुट जोगबनी नाकाबाट विराटनगर सोझिएको छ ।
मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेल भने बसाइँ सरेर धेरै संख्यामा यौनकर्मी विराटनगर नआएको दाबी गर्छन् । उनले भने, 'केही संख्यामा आएको सूचना भए पनि प्रहरीले निगरानी गरिरहेको छ ।'
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश खनाल भने इटहरी अपरेसनपछि यौनकर्मीको भागाभाग भएको बताए । 'केही काठमाडौं लागे, केही वरपरका अरू सहरमा त लुक्ने नै भए', उनले भने, 'धेरै कमाइ लिन बानी परेकाहरू इटहरी आसपासका सहरमा सेल्टर लिएर बस्नु अनौठो पनि होइन ।' इटहरीपछि धरानमा पनि कडाइ सुरु भएकाले बढी संख्यामा राजधानी, विराटनगर तथा त्यसपछि झापा र धनकुटातर्फ सर्नेहरूको संख्या बढिरहेको उनले बताए । विराटनगरमा आए पनि अहिले व्यवसाय नै सुरु नगरेको उनले बताए ।
'विराटनगर आएकाहरू स्पेस लिइसकेका छैनन्', उनले भने, 'यहाँ पनि प्रहरीले अपरेसन चलाउँछ कि भनेर उनीहरू पर्खेर हेर्ने स्थितिमा छन् ।'  
फस्टाएको धन्दा
काँकडभिट्टा- २१ असारमा विर्तामोड प्रहरीले भद्रपुर रोड, नयाँ बसपार्क र मुक्तिचोक आसपासका होटलबाट सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लियो । सातैजना विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
राजमार्गसँग जोडिएका झापाली सहर क्षेत्रमा यौनधन्दा कसरी फस्टाइरहेको छ भन्नेमा प्रहरी अनभिज्ञ छैन । जिल्लाका विभिन्न ठाउँबाट दैनिकजसो यौनकर्मी, होटल सञ्चालक र ग्राहक पक्राउ परिरहेका छन् । झापा जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टा, चन्द्रगढी, विर्तामोड र दमक क्ष्ाेत्रका अधिकांश होटलमा यौनधन्दा फस्टाएको छ ।  
प्रहरीका अनुसार काँकडभिट्टाले ३२, विर्तामोडले ४० र दमकले २२ जनालाई त्यस क्ष्ाेत्रका विभिन्न होटलबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । होटलबाट पक्राउ पर्ने सबैलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता गरिन्छ । सार्वजनिक अपराध ऐनले समाजलाई अहित हुने कुनै पनि गतिविधिलाई इंगित गर्छ । प्रहरीले प्रमाण अभावका कारण प्रायः लाई जीउ मास्ने बेच्ने ऐनअन्तर्गत कारबाही गर्न सकेको छैन । रंगेहात पक्राउ गरी प्रमाण जुटाउन सकिएको खण्डमा मात्रै कारबाही चलाउन सकिने भएकाले यस्ता मुद्दामा प्रहरी हतपत्त अघि बढ्दैन । होटल व्यवसायीका अनुसार विर्तामोडले क्रमशः जिल्लाकै 'सेक्स हब' को रूप धारण गर्दै छ । विर्तामोडमा दुई सयभन्दा बढी होटल छन् । धेरैको कमाइको मूल स्रोत यौनधन्दा छ । धन्दामा प्रहरीसमेतको मिलेमतो हुने दाबी व्यवसायीको छ । यौनधन्दामा पहाडी जिल्ला र भारतको दार्जिलिङ र सिक्किमबाट यौनकर्मी झिकाइएको हुन्छ । एक होटल व्यवसायीले भने, '५ सयदेखि १० हजारसम्मका महिला पाइन्छन् ।'
प्रहरीको कमाउ धन्दा
वैशाख १ मा काँकडभिट्टाको प्राश्ना होटलमा खाना खाइरहेकी एक युवती प्रहरीको फन्दामा परिन् । उनलाई यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । होटल सञ्चालक प्रेमबहादुर गुरागाईं पनि पक्राउ त परे तर प्रहरीले तुरुन्तै छाडिदियो । युवतीलाई मात्रै सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलायो । प्रहरी अधिकारी फेरिएको केही समय बेलाबेला प्रहरीले होटलमा छापा मार्छ । केहीलाई समाउँछ पनि । अनि पैसाको बार्गेनिङ सुरु हुन्छ ।  
यौनधन्दाको आरोपमा युवतीलाई पक्राउ गर्ने तर होटल सञ्चालकलाई उन्मुक्ति दिने घटना धेरै छन् । झापाका सबै क्षेत्रका होटलमा प्रहरीकै मिलेमतोमा यौनधन्धा फस्टाइरहेको होटल व्यवसायी स्विकार्छन् । 'धन्दावाल होटलबाट प्रहरीलाई महिनावारी जान्छ', एक होटल व्यवसायीले भने । प्रहरीले बेलाबेला होटलमा छापा मार्नुलाई आफूहरूले दिने पैसाको रेट बढाउन गरिएको भनेर बुझ्ने गरेको उनले बताए । सेटिङ नमिलेको र नयाँ व्यक्तिले होटल चलाएको अवस्थामा पनि प्रहरीले छापा मार्छ । 'छापा मारेपछि होटल सञ्चालक सेटिङमा आउँछ, बाध्यतै पर्छ', एक होटल व्यवसायीले भने, 'त्यसपछि प्रहरी चुपचाप ।'
नयाँ प्रहरी नायब उपरीक्षकहरू दमकमा रविकुमार पौडेल र विर्तामोडमा सञ्जयबहादुर राउत आएपछि दुवै सहरमा अहिले प्रहरीले होटल 'सर्च' अभियान तीव्र पारेको छ ।
सञ्चालक भन्छन्
हामीलाई फसाइयो
यौन व्यापार गरेको आरोपमा पक्राउ परेकाहरू भने प्रहरीले आफूहरूलाई फसाएको आरोप लगाउँछन् । प्रहरीले होटलबाट रंगेहात पक्राउ नगरि त्यतिकै उठाएको उनीहरूको दाबी छ । अुनसन्धानका नाउँमा पहिले सार्वजनिक अपराधअन्तर्गत म्याद थप गरेको र पछि नागरिक समाजबाट उजुरी लिएर मानव बेचबिखन मुद्दा चलाएको उनीहरूले बताए । पारिजात होटलकी सञ्चालिका ज्ञानु राई दोस्रोपटक पक्राउ परेकी हुन् । उनले आफूलाई पहिले पनि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको तर प्रमाणित नभएपछि आफू ९ महिनामा छुटेको बताइन् ।
होटल संघले निर्धारण गरेको नियमभित्रै सञ्चालन गरेको उनको दाबी छ । अर्की होटल सञ्चालिका राधा आचार्य प्रहरीले महिला सञ्चालकलाई मात्र पक्राउ गरी फसाउन खोजेको जिकिर गरिन् । 'अरू होटलमा पनि यौन व्यापार हुन्छ', उनले भनिन्, 'के पुरुष सञ्चालक भएका होटलमा देहव्यापार हुँदैन ?' प्रहरीले साँच्चै कारबाही गरेर यौन व्यवसायलाई निर्मूल गर्न चाहन्छ भने त्यस्ता होटलवालाको नाम आफूहरूले पनि दिन सक्ने उनले बताइन् । प्रहरीले भने कारबाही थालेकाको सम्पत्ति र आम्दानीका स्रोतको हिसाबकिताबको फाइल पनि खडा गरेको छ ।

'कुनै गतिलो स्रोतबिना नै १० वर्षमा १७/१८ करोडका मालिक बनेका छन्', डिएसपी शर्माले भने, 'कहाँबाट आयो त्यत्रो पैसा ? प्रहरीले यिनीहरूको सम्पत्तिको स्रोत खोजीका लागि सम्पत्ति शुद्धीकरण आयोगमा पनि फाइल पठाउँछ ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar