Headlines News :
>
Home » » हिन्दु र मुस्लिम मिलेर 'रोजा'

हिन्दु र मुस्लिम मिलेर 'रोजा'

Written By Unknown on Tuesday, 15 July 2014 | 01:12

ramajan
पर्सा, असार ३१ - कैदी हरि पटेल हिन्दु हुन् । १५ दिनयता विधिपूर्वक उनी मुस्लिम समुदायको रोजा व्रत लिइरहेका छन् । पवित्र महिना रमजानमा मुस्लिम कैदीबन्दीसँगै उनी स्वेच्छा र आस्थाले व्रत लिइरहेका छन् । 'हिन्दु, मुस्लिम, शिख र इसाई सबै एउटै ईश्वरका सन्तान हुन्', उनले भने, 'मानिसले पो जात, धर्म र समुदायको रंग दिएका हुन् ।' कारागारमा बसे पनि ईश्वरप्रतिको आस्था र व्रत लिंदा मनोकांक्षा पूरा हुने विश्वासले आफूले रोजा व्रत लिइरहेको बताउँछन् ।    
अर्का कैदी पूर्वसभासद रामचन्द्र प्यासी पनि विधिपूर्वक व्रत लिइरहेका छन् । कसैको दबाबमा नभई स्वेच्छाले लिएको उनी बताउँछन् । 'मलाई आत्मिक शान्तिसँगै आत्मसन्तुष्टि मिलेको छ', उनले भने, 'मुलुकले यसपटक भने निर्धारित समयमै संविधान पाओस्, अब दलीय झगडा बन्द होस्, मुलुकले आर्थिक समृद्धि हासिल गरोस् भन्ने मेरो चाहना छ र ईश्वरसँग पनि यही माग्छु ।'  
पटेल र प्यासीजस्तै ब्रह्मदेव पटेल, रामएकवाल मण्डल, सिकन्दर पटेल, विक्की लामा, रोहित साह सोनार, छोटु मिश्रा, सुरेन्द्रराउत कुर्मी, सुरज पटेल गरी १२ जनाभन्दा बढी हिन्दुले रोजाव्रत लिइरहेका छन् । १ सय २७ पुरुष र १७ महिला मुस्लिम कैदीबन्दीले यस वर्ष कारागारमा रोजा व्रत लिएकाले अहिले कारागार रोजामय भएको छ । हिन्दु व्रतालुले मुस्लिम व्रतालुसरह नमाज (प्रार्थना) भने गरेका छैनन् । त्यसबाहेक सम्पूर्ण विधि, निष्ठा र आस्थापूर्वक गरिरहेका छन् ।
उनीहरू बिहान सूर्योदय हुनुअघि खानपिन गरेपछि दिनभर अन्न र जलसमेत नखाई साँझ सूर्यास्तपछि मात्र अन्न तथा जल खान्छन् । सबै व्रतालु एकै थलोमा सामूहिक खानपान पनि गर्छन् । त्यहाँ हिन्दु र मुस्लिम भनेर एकअर्कालाई छुट्याइँदैन । यसरी बिहान खाने खानालाई 'सेहरी' र साँझ खाने खानालाई 'अफ्तारी' भन्ने चलन छ ।
रोजा व्रत लिएका सबै कैदीबन्दीलाई सामूहिक अपmतारी कारागारकै चौकीदार शफी अहमदले आफ्नो निजी खर्चमा खुवाइरहेका छन् । यसबीचमा उनीजस्तै सक्षम १/२ कैदीबन्दीले पनि बीचबीचमा यो जिम्मेवारी निभाएका छन् । आउँदो शुक्रबार (जुम्मा) को दिन पूर्वसभासद प्यासीले सबै व्रतालुलाई अफ्तारी खुवाउने घोषणा गरिसकेका छन् ।
चौकीदार अहमद हिन्दु र मुस्लिम कैदीबन्दी एकसाथ मिलेर यो व्रत लिंदा धार्मिक सहिष्णुताको वृद्धिसँगै आपसी भाइचारा र बन्धुत्वको विकाससमेत भएको बताउँछन् । कारागार परिसरमै मुस्लिम समुदायको धार्मिकस्थल मस्जिद पनि छ । मस्जिदका इमाम (मूल पुजारीसरह) बर्सेनि कारागारमा रोजा व्रत लिने व्रतालुको संख्या बढ्दै गएको बताउँछन् । ४ वर्षयता इमामको जिम्मेवारी उनैले सम्हालेका छन् ।
कारागारका जेलर धिराज मरासिनी कैदीबन्दीबीच यसरी धार्मिक आस्था र एकअर्काको चाडपर्वलाई सम्मान गरेर त्यसमा सरिकसमेत हुने गर्दा जुनसुकै अपराध गरेर वा जे जस्तो परिस्थितिमा परेर कारागार बस्नु परे पनि उनीहरूको सोच परिर्वतन हुने र सुधारको बाटोमा लाग्ने प्रेेरणासमेत मिल्ने बताउँछन् ।

वीरगन्ज कारागारका मुस्लिम र हिन्दु कैदीबन्दी मुस्लिम समुदायको पवित्र महिना रमजानको रोजाव्रत लिएपछि सामूहिक खाना खाँदै ।    
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar