Headlines News :
>
Home » » 'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

Written By Unknown on Saturday, 12 July 2014 | 02:39

 0  0 Google +0  0  0
(1 Vote)
'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'
एकताका नेपाल भाषाका फिल्म र म्युजिक भिडियो अशिष्मा नकर्मीमय थिए। चर्चामै रहेका बेला अध्ययनका लागि उनी अमेरिका हानिइन्। तीन वर्ष हस्पिटालिटी म्यानेजमेन्ट पढेपछि उनी फेरि नेपाल फर्किइन् र दुई वर्षदेखि नेपाली फिल्म क्षेत्रमा छिन्। यो दुई वर्षमा उनले अभिनय गरेका तीनटा फिल्म रिलिज भइसकेका छन् भने अरू तीनटा रिलिजको तारतम्य मिलाइरहेका छन्। यतिबेला उनको हातमा दुइटा फिल्म छन्। त्यसमध्ये फिल्म 'नभ्य'को सुटिङमा अहिले उनी व्यस्त छिन्। म्युजिक भिडियो र विज्ञापनमा पनि उत्तिकै सक्रिय छिन् उनी। अशिष्मा नेपाली फिल्म क्षेत्रमा सक्रिय पछिल्लो पुस्ताकी काठमाडौँकी एकमात्र रैथाने युवती पनि हुन्। उनीसँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानी-
 
फिल्म क्षेत्रमा रमाइरहनुभएको छ?
असाध्यै रमाइरहेकी छु। मन पर्ने काम गर्न पाउँदा सबैलाई रमाइलो लाग्छ नै।
 
अमेरिका बस्दा जत्तिको रमाइलो त भइरहेको छैन होला!
अमेरिकामा त कहाँ रमाइलो हुनु? 'होम सिकनेस'ले निकै सतायो। जसोतसो दुई वर्ष बिताएँ।
 
अमेरिका पुग्न मान्छेहरू मरिहत्ते गर्छन्। तपाईंलाई चाहिँ किन बस्न मन लागेन?
म स्टुडेन्ट भिसामा गएकी थिएँ। नेपाली बिद्यार्थीले भिसा पाउने भनेको अमेरिकाको गाउँमा त हो। म वेस्ट भर्जिनियाको एउटा गाउँमा थिएँ। गाउँ यस्तो थियो कि एक घरबाट अर्काे घर पुग्न १० मिनेट लाग्थ्यो। काठमाडौँ शहरकी स्थानीय बासिन्दा म। कहाँ दुर्गम गाउँमा आइपुगेँ जस्तो भयो।
 
बिस्तारै सुगमतिर सर्ने सुविधा पनि प्राप्त हुन्थ्यो होला?
लहैलहैमा अमेरिका पुगेकी थिएँ। अर्काे कुरा, जतिसुकै राम्रो भए पनि पराई घर भनेको पराई नै हो। नेपाल फर्किने निर्णयमा पुगेपछि त्यहाँ रहेका धेरै आफन्तले सम्झाए। ग्रिनकार्डको फर्स्ट लेटर आइसकेकाले 'छ/छ महिना नेपाल–अमेरिका गरे भइगो, केही समय कुर' भन्नुभयो। मनले मानेन फर्किएँ। तर, म जुन टाइममा गएँ, त्यो मेरो जीवनका लागि महŒवपूर्ण भयो। यता नेवारी फिल्मकी हिट हिरोइन भइसकेका कारण बाहिर नगएकी भए पढाइ बिग्रिन्थ्यो।
 
विदेश गएर पढेको विषयलाई प्रयोगमा नल्याउने?
मैले त्यस्तो विषय पढेँ, जुन सबै पेसामा उत्तिकै प्रयोग हुन्छ। हस्पिटालिटी म्यानेजमेन्टकी विद्यार्थी हुँ। त्यसलाई फिल्म क्षेत्रमा पनि व्यवहारमा उतारिरहेकी छु। जसले गर्दा मलाई यहाँ पनि सजिलो भएको छ। धेरैले भन्छन्, रिस उठ्दैन भनेर। रिस त मलाई पनि उठ्छ, तर देखाउँदिनँ। त्यसैगरी भन्छन्, मान्छेलाई मक्ख पार्न सिपालु छु रे। त्यो पनि मेरो पढाइले सिकाएको हो। अमेरिकाबाट फर्किंदा चाहिँ हायात होटेलमा काम गर्ने रहर थियो। अमेरिकामा पनि मैले होटेलमै काम गरेकी थिएँ।
 
त्यता प्रयास नै गरिएन?
म उतै हुँदा फिल्म 'सिक्स फिट इन लाइफ'का लागि कुरा भइरहेको थियो। किनभने, फिल्मका लागि बाहिर बसेर आएको पात्रको जरुरी थियो। त्यसैगरी 'अन्तराल'मा पनि उतै हुँदा कुरा भयो। काठमाडौँ आएको चार महिनामै फिल्म क्षेत्र 'रिज्वाइन' गरिहालेँ। त्यसपछि भिडियो, एड र फिल्ममा व्यस्त हुन थालेपछि प्रयास गर्ने मौैकै मिलेन।
 
यो क्षेत्रमा टाइममा पैसा आउँदैन, स्ट्रगलिङ चरणका नारी कलाकारलाई के–के जाति व्यहोरा देखाउँछन् भन्ने सुनिन्छ। तपाईंसम्म त्यसको प्रभाव कत्तिको आइपुगेको छ?
कति कुरा सत्य पनि छन्। मेरो पनि केही पैसा टाइममा आएको छैन, केही डुबिसकेको पनि छ। म यहाँकै रैथाने हुँ। त्यसैले जति समस्या बाहिरबाट आउनेलाई हुन्छ, मलाई हुँदैन। तर पनि, यसले प्रभाव पार्छ। मेरा बुवा (संगीतकार मनराजा नकर्मी) यही क्षेत्रमा हुनुभएकाले त्यस्तो व्यहोरा देखाउने आँट गरिहाल्दैनन्। सुरुसुरुमा केहीले फिल्मको कुरा गर्नुछ भनेर कफी खान बोलाउने गर्थे। कुरा गर्नेले काम गर्दैन भन्थे हो रहेछ। तिनले कुरा मात्रै गरे। कतिलाई त भनेकी छु, सुटिङभन्दा धेरै मिटिङ गर्नुहुँदो रहेछ। सुटिङभन्दा धेरै मिटिङ गर्नेले यो क्षेत्र बिगारी पनि रहेका छन्।
 
ग्ल्यामर क्षेत्रको रस कसरी पस्यो?
बुवा वाद्यवादक भएकाले उहाँले मलाई सितार सिकाउन पठाउनुभयो। मैले सितारमा जुनियर डिप्लोमा गरेँ। बुवाको संगीतमा नेपालभाषाको गीतको म्युजिक भिडियो बन्दै थियो। नाच्ने सोख भएकाले उहाँलाई भनेँ। लिड रोलमा अर्कैलाई छानिसकेकाले साइडमा डान्स गरेँ। पहिलोपल्ट मेकअपमा आफ्नो अनुहार हेरेकी थिएँ। मेकअप गर्दा अनुहार सुन्दर आएछ, एल्बमको कभरमा मेरै तस्बिर राखियो। नेपाल भाषाका फिल्म निर्देशक सविन शाक्य घरमै फिल्ममा अभिनयको अफर लिएर आउनुभयो। १० कक्षा पढिरहेकी थिएँ। तस्बिरमा 'म्याचुअर' देखिए पनि हेर्दा सानै थिएँ । तत्काल त्यत्तिकै फर्किनुभयो। त्यसपछि फेरि मलाई अभिनय गर्न अफर गर्नुभयो। केही आउँथेन। 'हस् अंकल' भन्दै सुटिङ सकाएँ। 'ब्याल्ल ब्याँ' मा तिमिला नामक युवतीको रूपमा देखिएकी थिएँ। फिल्म हिट भयो। अहिले पनि नेवार समुदायमा म तिमिलाकै रूपमा परिचित छु।
 
निकै नेवारी फिल्ममा अभिनय गरिसक्नुभएको थियो क्यारे!
दशवटा जतिमा गरेँ। तीमध्ये सातवटा त सुपरहिट नै भए। म्युजिक भिडियो पनि निकै गरेकी छु।
 
आफूलाई आफू चाहिँ कत्तिको राम्री लाग्छ?
क्यारेक्टरमा ठीकै देखिन्छु होला। कसैले वाह! भन्दैन, तर छ्या पनि भन्दैन है।
 
फिल्म करिअरको हिसाबमा कहाँसम्म पुगियो जस्तो लाग्छ?
भर्खर ग्राउन्ड फ्लोरबाट पहिलो तलामा पुगेकी छु।
 
टपमा कहिले पुग्ने त?
हतार छैन। काम गर्दै जाउँ्क, एक दिन पुगिएला। पुगिएन भने पनि केही छैन। म सन्तुष्ट छु।
 
सानै उमेरमा गीत गाउनुभएको मान्छे। फेरि गीत गाउन रहर छैन?
बाथरुममा गाइरहेकी हुन्छु नि। मलाई गीत गाउने ठूलो रहर छ। तर, बाबाले कहिल्यै गीत गाउन उत्प्रेरित गर्नुभएन। सायद मेरो स्वर त्यति मीठो छैन। रियाज नभएर पनि मेरो स्वर राम्रो भएन। साँच्चै भन्नुपर्दा अरू क्षेत्रमा जानका लागि साधना चाहिन्छ। सितार सिक्दा थाहा भयो, कति दुःख गरेपछि सिकिन्छ। नेपाली फिल्म क्षेत्र एउटा हो, जहाँ एकदमै कम साधना भए पनि मान्छेले चान्स पाइरहेका छन्। छिमेकमै बस्ने युवती राम्री देख्यो भने भिडियो डाइरेक्टरले भनिहाल्छ, 'म्युजिक भिडियो खेल्ने हो?' केही दिनमा त हिट मोडल, चर्चित नायिका भइहाल्छे। त्यही भएर पनि फिल्म क्षेत्रले अपेक्षाअनुरूप गति लिन नसकेको हो।
 
तपाईंको चाहिँ फिल्मका लागि साधना छ त?
छ नि। सानैदेखि अभिनय गरेँ। अमेरिकामा पनि चारमहिने अभिनय कोर्स गरेकी छु। जति मैले त्यहाँ सिकेँ, त्यो यहाँ प्रयोग गर्न पाएकै छैन। अलिकति आइडिया सेयर गर्योत भने यहाँ 'जान्ने भई, सिनियरलाई सिकाउने?' भन्लान् भन्ने डर छ।
 
नेपाली फिल्म क्षेत्रमा कति लामो समय रहन सक्छु जस्तो लाग्छ?
यो क्षेत्रमा आएकै १० वर्ष भइसक्यो। त्यसैले अझै धेरै समय रहन्छु।
 
हिरोइन हुन त लामो समय उमेरले नदेला?
हिरोइन होइन, कलाकार बन्नका लागि यो क्षेत्रमा आएकी हुँ। पात्रअनुसार कहिले हिरोइन त कहिले अरू केही बनिएला। मिथिला शर्मा दिदीको सानैमा एउटा गीत सुनेकी थिएँ, हिरोइन भएर नाचेको। तर, अहिले पनि यही क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ।
 
प्रेम सम्बन्धका विषयमा पनि अमेरिकाले केही सिकायो कि?
यो कुरा चाहिँ सिकेर पनि साध्य लाग्दैन। मेरै कुरा गरौँ। बिहान ६ बजे काममा जान्छु। बेलुका ८ बजेपछि फर्किन्छु। समय दिन पाइँदैन। अमेरिकीहरू पनि यत्तिकै व्यस्त हुन्छन् तर लिभिङ टुगेदरको सुविधा छ। हामीकहाँ अहिले अलिअलि छ, तर विवाह भएन भने केटीलाई चाहिँ कसैले राम्रो नजरले हेर्दैन। त्यसैले यस्ता कुरा नसिकेकै राम्रो ।
 
तपाईं आफ्नै समुदायमा विवाह गर्ने कुरामा प्रतिबद्ध हुनुहुन्छ क्यारे!
हाम्रो समुदायमा अहिलेसम्म सक्दो आफ्नै कास्टमा विवाह हुन्छ। मेरो फुपूको छोरीले अर्काे कास्टसँग गर्दा केही समस्या आएको थियो। म सानै हुँदा दिमागमा त्यो परेकाले केही समयअघिसम्म आफ्नै समुदायको खोज्छु भन्थेँ। अन्तरवार्ताहरूमा त्यस्तो भनेको थाहा पाएपछि बाबाले नै 'समय परिवर्तन भइसक्यो, त्यस्तो भन्नुहुँदैन' भन्नुभयो। खुशी लाग्यो, त्यसैले अहिले चाहिँ त्यो प्रतिबद्धताबाट पछि हटेकी छु।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar