Headlines News :
>
Home » , » यौनमा उदार :: आधुनिकतासँगै बढ्दो यौन गतिविधिलाई परम्परावादी नेपाली समाजले बडो असहजताका साथ पचाउन खोजिरहेको छ।

यौनमा उदार :: आधुनिकतासँगै बढ्दो यौन गतिविधिलाई परम्परावादी नेपाली समाजले बडो असहजताका साथ पचाउन खोजिरहेको छ।

Written By Unknown on Thursday, 17 July 2014 | 03:00

डम्बरकृष्ण श्रेष्ठ
साँझ ६ बजेतिर ललितपुर, कुमारीपाटीस्थित एक रेस्टुरेन्टको टेबुलमा बसेका १५/१६ वर्षका दुई जोडी केटाकेटी एकापसमा चुम्बन गर्न थाल्छन्। खानेकुरा खाँदै टीभीमा विश्वकप फूटबलको हाइलाइट हेरिरहेका अरू टेबुलका ग्राहकहरूलाई स्कूल डे्रसमै रहेका ती केटाकेटीको चर्तिकलाले अप्ठ्यारोमा पार्छ।
काठमाडौं, सुन्धाराको एक रेस्टुरेन्टमा लोकदोहोरी चलिरहेको छ। प्रायः सबै टेबुलका ग्राहकहरूसँग अर्धनग्न केटीहरू टाँसिएर बसेका छन्। मोलतोल चलिरहेको एउटा टेबुलकी केटीले आफ्नो रेट बताउँछिन्, “मेरै फ्लाटमा जाने भए ५ हजार।”
ठमेलको एउटा डान्सबारमा १५/१६ वर्षका किशोरकिशोरीदेखि ५५/६० वर्षेहरूको खचाखच भीड छ। उत्तेजक हिन्दी गीतमा नाचिरहेका अर्धनग्न डान्सरहरूले बाहिरी पहिरन फाल्न थालेपछि उनीहरूलाई पानी र बियरले भिजाउन थालिन्छ। नर्तकीहरूले अन्त्यमा भित्री पहिरन समेत फ्याँकिदिंदा हल सुसेली र तालीले गुन्जायमान हुन्छ।
७ असार अपरान्ह तीन बजे मोटरबाइकमा भक्तपुर, जगाते नजिकैको एउटा गेष्ट हाउसमा आएको एक जोडीले प्रतिघन्टा रु.५०० का दरले दुई घण्टाका लागि कोठा मिलाए।
मोडलिङ तस्वीरहरुः बिक्रम राई । मोडलः प्रनिशा सिलवाल र आशिष महर्जन
असारको तीन सातामा राजधानी उपत्यकाका केही स्थानमा देखिएका यी दृश्यले ‘मोर्डन’ बन्ने धुनमा समाजमा यौन व्यवहार खुलेआम बन्न थालेको आभास दिन्छ। खासगरेर नयाँ पुस्ताको यस्तो ‘आधुनिकता’ देखेर असहज मानिरहेको खुल्लापनउन्मुख नेपाली समाज यो सब नदेखेझैं गरिरहेको छ। मानवशास्त्री सुरेश ढकाल समाजले अब ‘सेक्स’ गुपचुप र रहस्यको विषय नरहेको स्वीकार्ने उदारता देखाइरहेको बताउँछन्।
नेपाली समाजलाई १०४ वर्ष ‘अनुशासन’ मा राखेका राणा शासकहरूको यौन गतिविधिका किस्साहरू २००७ सालपछि सर्वसाधारणले सुन्न थालेका थिए। काठमाडौंका सम्भ्रान्त वर्गमा सीमित त्यो ‘खुल्लापन’ २०४६ सालपछि भने सर्वसाधारणमा पनि भित्रिन थाल्यो। गत दुई दशकमा फस्टाएको उद्योग व्यापार, सूचनाप्रविधि, वैदेशिक रोजगारी र अरू किसिमका ‘एक्सपोजर’ हरूले नेपाली समाजलाई गतिशील बनाएसँगै खुल्लापनको भरपुर उपयोग हुन थालेको छ।
विभिन्न सेलिब्रेटीहरूको यौनजन्य व्यवहार सम्बन्धी सामग्री छापिएका पत्रपत्रिका र अनलाइनहरूको लोकप्रियतालाई मापदण्ड मान्ने हो भने त यौनको मामिलामा नेपाली समाज पूरै खुलेको देखिन्छ। जिल्ला जिल्लामा ‘सेक्स टोय शप’ हरू खुल्न थालेका छन्भने होटल–रेस्टुरेन्टदेखि कफी शपसम्ममा देखिने, सुनिने यौनका कुरा र गतिविधिले नेपाली समाजभित्रको गोप्य पाटोलाई छताछुल्ल बनाएको छ। गर्लफ्रेण्ड–ब्वाईफ्रेण्ड बनाउने र ‘नाइट स्टे’ गर्नेदेखि लिभिङ टुगेदरसम्मका चलन नेपाली शहरको जीवनशैली बनिसकेको छ। यसरी हवात्तै बढेको यौन गतिविधिमा मोबाइल फोन र इन्टरनेट प्रविधिको ठूलो भूमिका छ।
अघोषित 'रेडलाइट': काठमाडौंको रत्नपार्क आसपासमा यसरी ग्राहक कुरेर बस्ने महिला यौनकर्मीलाई कण्डम बाँड्दै तारादेवी खड्का। तस्वीरः देबकी बिष्ट
गएको फागुन अन्तिम साता हिमाल ले राजधानीसहित देशका ठूला १२ शहरमा गरेको सर्वेक्षणमा ६० प्रतिशत उत्तरदाताले यौनमा समाज उदार बन्दै जानुमा इमेल–इन्टरनेट र मोबाइलको मूल भूमिका रहेको बताएका थिए। सर्वेमा सहभागीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिकामा सबभन्दा पहिले यौन सामग्रीमा आँखा जाने बताएका थिए भने ५० प्रतिशतले ‘रेडलाइट एरिया’ को आवश्यकता औंल्याएका थिए। यौनमा सबैको चासो (१२ शहरको सर्वे) यहाँ क्लिक गर्नुहोस् ।
उदार कि असहज
आजका तन्नेरीमा ‘लभ, सेक्स र ट्रेजेडी’ जस्ता कुरा सामान्य भएका छन्। मनोविज्ञ डा. गंगा पाठकका अनुसार, प्लस टु पुस्तामा ब्वाईफ्रेण्ड–गर्लफ्रेण्ड नहुनुलाई कमजोरीको रूपमा लिन थालिएको र जोडी नहुनेहरूले हीनताबोध गर्न थालेका छन्। यस्तै, समाजशास्त्री डिल्लीराम दाहाल डेढ–दुई दशकअघि डरलाग्दो मानिने बिहे पूर्वको यौन सम्बन्ध र सम्बन्धविच्छेदको कुरा अहिले सामान्य भएको बताउँछन्। “अहिलेका आमाबुबाले छोराछोरीको ‘प्राइभेसी’ लाई महत्व दिन थालेका छन्”, दाहाल भन्छन्, “पहिलेको ‘कुमारीत्व’ को कुरा अहिले ‘सेफ सेक्स’ मा आइपुगेको छ।”
पहिले कण्डमको विज्ञापनमा परिवार नियोजनको अस्थायी साधन भनिन्थ्यो, अहिले ‘सेफ सेक्सको लागि कण्डम’ भनिन्छ। मानवशास्त्री ढकाल ‘सेफ सेक्स’ का विभिन्न उपायदेखि २४ घण्टाभित्र खाने चक्कीसम्मका विज्ञापनले ‘मन मिले जोसँग पनि यौन सम्बन्ध राखे हुन्छ’ भन्ने सन्देश दिइरहेको र त्यो आपत्तिजनक हुन छाडेको बताउँछन्। ढकालको विचारमा, समाजले यतिका कुरा स्वीकारिसकेपछि नीतिनिर्माताहरूले कथित नैतिकताको पाखण्ड छाडेर यौन गतिविधिको व्यवस्थापनमा ध्यान दिनु उपयुक्त हुन्छ।
अघिल्लो पुस्ताले ‘छाडापन या उच्छृङ्खलता’ मान्ने गरेको यस्तो खुल्लापनले धेरैलाई तनाव पनि दिइरहेको छ। व्यक्तिगत जस्तो लाग्ने यस्तो तनावले समाजको एउटा ठूलो हिस्सालाई पिरोल्न थालेको मनोविज्ञ डा. पाठक बताउँछिन्। उनको विचारमा, समाजले देखेर, अनुभव गरेर पनि थाहा नपाए जस्तै गरिरहेको यो अप्ठ्यारो खुलापनको दुरुपयोगबाट आएको हो। हुन पनि, नेपाली समाजमा आधुनिकता र खुलापनको आगमन यति अपेक्षित भएको छ कि, ‘केटा र केटी साथी हुनै सक्दैन’ भन्ने जमाना भोगेर आएका आमाबाबु छोरीले ‘ब्वाईफ्रेण्ड’ लिएर आउँदा सत्कार गर्न तयार भएका छन्। “खुला यौन गतिविधिलाई नै आधुनिकता ठान्ने एउटा पुस्ता भने समस्याको रूपमा देखिंदैछ”, डा. पाठक भन्छिन्।
तीन महीनाअघि काठमाडौंको एउटा प्लस टुका शिक्षकले ८ कक्षाका ६ छात्रछात्रालाई नजिकैको साईबर क्याफेमा पोर्न साइट हेरिरहेको अवस्थामा भेट्टाए। त्यो समूहलाई एञ्जिला (नाम परिवर्तन) ले त्यहाँ लगेको थाहा भएपछि कलेज प्रशासनले उनका अभिभावक बोलाएर ‘काउन्सिलिङ’ गराउन सल्लाह दियो। तर, १४ वर्षकी एञ्जिला आफूले कुनै गल्ती नगरेकोमा दृढ छिन्। “त्यस्तो साइट सबैले हेर्छन्, हामीले हेर्दा के भो त?” उनको भनाइ छ। यसले समाजभित्रको एउटा पुस्तामा गलत ‘जजमेन्ट’ र जिद्दी हावी हुन लागेको संकेत गर्छ।
मनोविज्ञ डा. पाठक इन्टरनेटबाट रातभर ‘पोर्न’ साइट हेर्ने र ब्वाईफ्रेण्ड–गर्लफ्रेण्डसँग ‘सेक्स च्याट’ गर्ने कुलतमा फँस्नेको संख्या पनि नजानिंदोगरी बढिरहेको बताउँछिन्। अभिभावकहरूले नयाँ पुस्ताको हातहातमा मोबाइल र ल्यापटप थमाइदिंदा प्रविधिको दुरुपयोग बढेको बताउने डा. पाठक आफ्ना छोराछोरी बिहान ढीला उठ्न थाले भने अभिभावकहरू चनाखो हुनुपर्ने सुझाव दिन्छिन्।
मस्तीः पर्यटकीय शहर पोखरामा भएको विकिनी डान्स पार्टी। तस्वीरः ठीकठाक डटकम
विभिन्न सामाजिक गतिविधिमा संलग्न रिन्छेन योञ्जन बिभिन्न किसिमका टेलिभिजन च्यानल र इन्टरनेटका कारण आधुनिकताभन्दा पनि उत्ताउलोपन बढेको बताउँछिन्। घरपरिवार र विद्यालयमा यौनबारे खुलेर छलफल हुन अझै बाँकी रहेको र मार्गनिर्देशनको अभावमा उच्छृङ्खलता र आधुनिकता छुट्याउन नसक्दा समस्या आएको उनको भनाइ छ। “२०६०/७० को दशकमा काठमाडौंमा झयालबाट हेराहेर गरेर मन परापर हुनुलाई प्रेम भनिन्थ्यो”, योञ्जन भन्छिन्, “अहिले त पहिले डेटिङ र सेक्स अनि मात्र मन परे लभ अनि बिहे नभए, अर्को पार्टनरको खोजी गर्ने प्रवृत्ति देखिएको छ।”
सोच र मोज नामक पुस्तकका लेखक समेत रहेका पर्यटन व्यवसायी कर्ण शाक्य पहिले पुरुषहरूलाई मात्रै भएको खुल्लापनमा अहिले महिला पनि थपिएको बताउँछन्। उनका अनुसार, छोरीलाई एक्लै घरबाहिर जान नदिने समाजले बिहे गर्ने वेला हुँदा ‘तिम्रो ब्वाईफ्रेण्ड’ छ, छैन? भनेर सोध्न थालेको छ। “यो राम्रो विकास हो, तर यही विन्दुमा नेपाली समाज र खासगरेर नयाँ पुस्तामा अलमल देखिएको छ”, शाक्य भन्छन्, “यो समस्यालाई शिक्षा र सुसंस्कारबाट न्यून गर्नुपर्छ।”
दुई वर्षअघि ७ जोडी स्कूले केटाकेटीले नवलपरासीमा ‘किस प्रतियोगिता’ गरेको ८ मिनेट लामो भिडिओ अझै पनि केही अनलाइन, साइट र कतिपयका मोबाइलमा पाइन्छ। आफूलाई परिवार र समाजप्रति जिम्मेवार ठान्ने जो कोहीलाई १४–१६ वर्षका ती केटाकेटीले अर्धनग्न अवस्थामा देखाएको चर्तिकलाले सोच्न बाध्य बनाउँछ। मोबाइलको दुरुपयोग गर्दै खिचिएका यस्ता भिडियोहरूले धेरैको घरबार र ‘करिअर’ चौपट बनाएको पनि छ।
नेपाली समाज तीन पुस्ता (हजुरबा–हजुरआमादेखि नाति–नातिनासम्म) को सोच बोकेर गतिशील भइरहेको छ। यस्तो अवस्थामा बढेको खुल्ला यौन व्यवहारले घर र समाजको पिंढीबीच द्वन्द्व बढाएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रसिंह भण्डारी बताउँछन्। हुन पनि, नेपाली समाज र परिवारमा पुरानो काइदा–कानूनका हिमायतीहरूको काखमा हुर्केकाहरू नै अहिले समलिङ्गी र लेस्वियनसम्मका यौन सम्बन्धलाई सामान्य मान्ने भएका छन्। यसबाट अघिल्लो पुस्ता स्तब्ध भएको डीआईजी भण्डारी बताउँछन्। “विभिन्न यौन काण्ड मच्चाउने सेलिब्रेटीहरूले सस्तो प्रचारका लागि यौन सम्बन्धका अनुभव मिडियाबाट प्रचार गर्दा पछिल्लो पुस्तालाई विकृत र अघिल्लो पुस्तालाई स्तब्ध पारिरहेको छ”, भण्डारी भन्छन्।
खुल्ला कि छाडापन
सिने हिरोइन प्रियंका कार्कीले ‘डाइनिङ टेबलमा सेक्स गर्दा बढी आनन्द आउने’ आफ्नो यौन अनुभव एउटा साप्ताहिक पत्रिका मार्फत सार्वजनिक गरिन्। त्यसअघि मोडल स्मिता थापाले ‘मलाई लोग्ने हैन, लोग्नेमान्छे भए पुग्छ’ भन्दै ‘हट’ अन्तर्वार्ता दिएकी थिइन्। चर्चामा आउन गरिने यस्ता ‘पब्लिसिटी स्टन्ट’ हरूले मिडियामा राम्रो ठाउँ पाउने गरेको छ। “सही र गलत छुट्याउन नसकेर बोलेको यस्ता ‘स्टुपिड’ कुराहरूलाई मिडियाहरूले मसला बनाउँछन्”, मानवशास्त्री ढकाल भन्छन्, “तर, आधुनिकता र खुलापन भनेको नाङ्गै दौडिनु होइन।”
खुल्लमखुलाः राजधानीको ठमेलस्थित एक डान्सबारमा प्रस्तुत 'टपलेस' नृत्य। तस्वीरः साम काङ ली
समाज आधुनिकतातिर लम्के पनि चेतनास्तर नबढ्दा यस्तो छाडापनले प्रश्रय पाएको ठान्ने ढकाल नयाँ पुस्ताले आधुनिक जीवनशैलीको अवसर पाएको, तर त्यस अनुसारको संस्कार विकास नहुँदा ‘सेक्स’, फेशन र मस्तीलाई नै जीवन ठान्ने प्रवृत्ति देखिएको बताउँछन्। छोराछोरी अस्वाभाविक रूपमा खर्चालु र उन्मुक्त भएको देख्दादेख्दै पनि बाबुआमाले नियन्त्रण गर्न नसक्नुलाई शहरीकरणको एउटा प्रवृत्ति भन्ने समाजशास्त्री दाहाल आधुनिकताको नाममा बिहे नगरी सँगै बस्नेहरू बच्चा जन्मिएर समस्यामा पर्नुलाई चेतनाहीनताको उदाहरण मान्छन्।
पैसाको लागि जे गर्न पनि तयार हुने, बूढाबूढीको अनादर गर्ने, सानै उमेरमा बिहे गरेर जोडी फेर्दै हिंड्ने प्रवृत्तिलाई आधुनिकता ठान्ने जमातप्रति चिन्तित पत्रकार किशोर नेपालले प्लस टु पुस्तालाई सही ‘काउन्सिलिङ’ को खाँचो रहेको बताए। छोराछोरी ढीलो घर फर्कन थाल्दा उनीहरू ‘मोर्डन’ भएको नसोच्न नेपालको सल्लाह छ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम अधिकारी स्कूले उमेरमै प्रेमी–प्रेमिका बन्ने र बिहे नगरी सँगै बस्ने चलनले छाडापन मात्र होइन, अपराध पनि बढाएको बताउँछन्। खुल्लापनसँगै देखिन थालेको जथाभावीले राजधानी लगायतका शहरहरूमा यौनको किनबेच बढाएको डीएसपी अधिकारीको भनाइ छ। प्रहरीले वेलावेला होटल, गेष्ट हाउसहरूमा छापा मारेर ‘आपत्तिजनक अवस्थामा फेला परेको’ भन्दै जोडीहरूलाई समात्ने पनि गरेको छ, तर यौन गतिविधि हुने भाडाका निजी घर, अपार्टमेन्ट र तारे होटलहरूमा प्रहरीको पहुँच छैन।
काठमाडौं लगायतका शहरहरूका निजी घर, तारे होटल र अपार्टमेन्टहरूमा हुने यौन धन्दामा नेपाली केटी मात्र होइन, चिनियाँ र रसियन ‘कल गर्ल’ सम्म संलग्न छन्। महानगरीय प्रहरी कार्यालय, हनुमानढोका काठमाडौंमा रहँदा आफूले ठमेल क्षेत्रमा सक्रिय रसियन ‘कल गर्ल’ हरूलाई कारबाही गरेको बताउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र श्रेष्ठ राजधानीमा यौन कारोबार नियन्त्रणको साटो फैलँदै गएको बताउँछन्।
मानवशास्त्री ढकाल उमेर पुगेका दुई व्यक्तिबीचको राजीखुशी यौन सम्पर्कले समाजलाई कुनै असर नगर्ने, तर यौनको किनबेचलाई त्यही नजरले हेर्न नमिल्ने बताउँछन्। उनको भनाइमा, यौनको किनबेचलाई व्यवस्थापन गर्नुको विकल्प नभएको उनी बताउँछन्। “तर, वेश्यावृत्ति मज्जाले चलिरहे पनि यहाँ ‘रेडलाइट एरिया’ स्वीकार्य भएको छैन”, ढकाल भन्छन्, “हामीलाई भित्र खोक्रिए पनि बाहिर नैतिकवान देखिनु जो छ।”
________________________________________________________________________________
विकृतिको बिस्कुन !
राजधानीको एउटा कलेजमा स्नातक गरिरहेकी २२ वर्षीया सुमिता (नाम परिवर्तन) मोबाइल फोन चलाउँदा चलाउँदै आत्तिएर ढलिन्। कारण थियो– फेसबुकमा कसैले पोष्ट गरेको उनको टाउको जोडेको नाङ्गो फोटो। फोटोसँगै ‘यो केटी वेश्या हो, जसले सम्पर्क गर्दा पनि हुन्छ’ भनेर लेखिएको थियो। जेठ अन्तिम साता भएको यो घटनामा सुमिताले अनिशा नामकी युवतीमाथि आशंका गरेपछि अनुसन्धान भयो। सँगै पढ्ने सुमिता र अनिशाको एउटै केटासँग ‘अफेयर’ रहेछ। त्यो झगडाका कारण कलेज नै छाडेकी अनिशाले फेसबुकमा त्यस्तो फोटो पोष्ट गरेकी रहिछन्।
राजधानीमै सरकारी जागीरे रहेका एक युवकले अर्कैसँग बिहे गरेकी प्रेमिकालाई तनाव दिन पहिले सँगै खिचाएका निजी तस्वीरहरू पटक–पटक फेसबुकमा राखिदिए। त्यो उजुरीमा अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखा, हनुमानढोकाको साइवर सेलका इन्स्पेक्टर पशुपति राय ती फोटोहरूका कारण युवतीको घरबार भाँडिइसकेको बताउँछन्। हिजोआज फेसबुकमा अन्तरंग सम्बन्धका तस्वीर वा भिडियोहरू राखेर कानूनी कारबाहीमा पर्ने, पढाइ, जागीर वा वैवाहिक सम्बन्ध बिगार्नेको संख्या निकै बढेको इन्स्पेक्टर राय बताउँछन्।
____________________________________________________________________________________
‘समाज नै ढोंगी छ’
नेपाली समाज दोहोरो चरित्रमा रमाउन खोज्छ। होटल खोल्न दिइन्छ, तर कोही त्यहाँ जोडी लिएर सुत्न गयो भने समातेर जात्रा गरिन्छ। नेपालको कर्मचारीतन्त्र, नेता र अरू सबै रुढिवादी छन्। सरकार समलिंगी अधिकार दिन्छ, तर ‘रेडलाइट एरिया’ तोक्दा बर्बाद हुने ठान्छ। छोराछोरी राति अबेर घर आउँदा उनीहरू ‘मोडर्न’ भए भनिठान्ने बाबुआमा पनि यहीं छन्।
काठमाडौंमा ‘वाइफ स्विपीङ’ (श्रीमती साटासाट) गर्नेहरू उहिल्यैदेखि थिए। राणा, शाह घरानियाँहरू अमेरिकाबाट ‘प्ले ब्वाई’, ‘पेण्ट हाउस’ जस्ता पत्रिका मगाएर हेर्थे। समाजको एउटा वर्गले डलरमा किनेर पढिरहेको सामग्रीलाई मैले साप्ताहिक र शुक्रबार मार्फत आम समूहमा पुर्‍याउँदा धेरैले ‘अश्लील’ भने, अझै भन्छन्। तर, त्यसो भन्नेहरूकै घरमा एउटा अंक चार प्रति पुग्छ। बाबु, आमा, छोरा र छोरी सबैले किनेर पढ्ने यी पत्रिका निकै लोकप्रिय भएका छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar